खरसाङमा भव्य रूपमा सम्पन्न फूलपाती शोभायात्रा, मालश्री गायन र झाँकी प्रतियोगिताका विजेताहरू सम्मानित
मालश्री गायन प्रतियोगिता


खरसाङ, १७ अक्टोबर (हि.स.)। खरसाङमा यस वर्ष भव्य रूपमा फूलपाती शोभायात्राका साथै मालश्री गायन प्रतियोगिता, झाँकी प्रतियोगिता र सम्मान समारोह आयोजना गरिएको छ। फूलपाती शोभायात्रा तथा सम्मान कार्यक्रम आयोजक समितिको आयोजनामा सम्पन्न सांस्कृतिक शोभायात्रा खरसाङ रेलवे स्टेसन परिसरमा रिबन काटेर शुभारम्भ गरिएको थियो।

शोभायात्रा शुरु हुनुअघि डोलीहरूको दर्शन गरियो। त्यसपछि रेलवे स्टेसन परिसरबाट शूरु भएको शोभायात्रा अस्पताल मोड हुँदै वर्धमान रोड भएर मोटर स्ट्यान्डबाट पार्क लोकेसनस्थित सार्वजनिक भवनमा पुगेर सम्मान समारोहमा परिणत भयो।

शोभायात्रामा विभिन्न सङ्घ-संस्थाका सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए। नौमती बाजाको अगुवाइमा सम्पन्न शोभायात्रामा साकेला शिली, खैँजडी समूह, सेन्ट अल्फन्सेस विद्यालयको पाइपर ब्यान्ड, शङ्खवादन, खुकुरी प्रदर्शनी र डम्फु टोलीलगायतका प्रस्तुति समावेश थिए। यसका साथै मालश्री गायन प्रतियोगिता र झाँकी प्रतियोगिता पनि आयोजना गरिएको थियो।

मालश्री गायन प्रतियोगितामा वरिष्ठ सङ्गीतकार मोहन प्रधान तथा गायिकाद्वय रीता गिरी र सुनिता गजमेर निर्णायकका रूपमा रहेका थिए। त्यसैगरी, झाँकी प्रतियोगितामा वरिष्ठ साहित्यकार पूर्ण गुरुङ ‘निरुपम’ र आकाशवाणी खरसाङका पूर्वनिर्देशक बलराम राई निर्णायकका रूपमा रहेका थिए। विभिन्न सङ्घ-संस्था तथा जातीय समुदायका तर्फबाट सांस्कृतिक जनचेतनामूलक झाँकीहरू प्रस्तुत गरिएका थिए।

पार्क लोकेसनस्थित सार्वजनिक भवनमा आयोजित सम्मान समारोहको अध्यक्षता आयोजक समितिका सभापति आईएन शर्माले गरेका थिए। कार्यक्रममा खरसाङका विधायक सोनाम लामा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशिष्ट अतिथिहरूमा आशा मुखिया लामा, विनय प्रसाद, चन्दन प्रसाद, वरिष्ठ अधिवक्ता रमेश अग्रवाल, आरबी लामा, पूर्व सांसद शान्ता छेत्री तथा पूर्व विधायक डा. रोहित शर्मालगायत अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

मालश्री गायन प्रतियोगितामा गोर्खा जनपुस्तकालय, खरसाङ प्रथम, ग्राम सुधार समिति पालुवा द्वितीय र वाणीश्री कल्याण समिति तृतीय भएका छन्।

झाँकी प्रदर्शनीमा ग्राम सुधार समिति, तीन माइल प्रथम, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय द्वितीय र माँ कात्यायनी धाम, उज्जेरी बस्ती तृतीय भएका छन्।

सबैभन्दा पुरानो पूजाको श्रेणीमा गोर्खा जनपुस्तकालय, खरसाङ प्रथम, फाटकडाँडा सोसियल वेलफेयर सोसाइटी द्वितीय र ग्राम सेवा समिति, डुमाराम बस्ती तृतीय भएका छन्।

सम्मान समारोहमा लोकसाहित्य र लोकसङ्गीत क्षेत्रमा बहुमूल्य योगदान पुर्‍याएबापत पूर्णकुमार राई बाबरीलाई सङ्गीत सम्मान प्रदान गरिएको थियो। शिक्षा क्षेत्रमा योगदानका लागि डा. रागिनी थापालाई शिक्षा सम्मान प्रदान गरियो। त्यसैगरी, समाजसेवाका लागि वरिष्ठ समाजसेवी टीटी लामा र पशुप्रेमी सुनिल खातीलाई पनि सम्मान गरिएको थियो।

सम्मानित सबै व्यक्तित्व तथा संस्थाका प्रतिनिधिहरूलाई अतिथिहरूको बाहुलीबाट खदार्पण गरी जातीय टोपी, दोसल्ला तथा शल ओढाएर सम्मान गरिएको थियो। साथै, जातीय खुकुरी र सम्मानपत्र पनि प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि विधायक सोनाम लामा, कोषाध्यक्ष राजेश गजमेर, निर्णायकद्वय मोहन प्रधान र सुनिता गजमेर तथा समारोहका सभाध्यक्ष आईएन शर्माले सम्बोधन गरेका थिए।

यसैबीच, फूलपाती सांस्कृतिक शोभायात्रा तथा सम्मान समारोहबारे पत्रकारहरूसँग कुराकानी गर्दै आयोजक समितिका सचिव गोविन्द छेत्री र कोषाध्यक्ष राजेश गजमेरले कार्यक्रमसम्बन्धी विस्तृत जानकारी दिएका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande