
चण्डीगढ़, १८ अक्टोबर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाह २० अक्टोबरमा पञ्जाबको भ्रमणमा आउनेछन्। यस क्रममा उनले मानसा जिल्लामा लागुऔषध विरुद्ध आवाज उठाउने कार्यकर्ता परविन्दर सिंह झोटाका परिवारका सदस्यहरूसँग भेट गर्नेछन्। त्यसपछि उनले गुरदासपुरमा विक्रमजीत सिंह र सङ्गरुरमा गुलजार सिंहका परिवारका सदस्यहरूलाई पनि भेट्नेछन्। आइतवार पूर्व केन्द्रिय मन्त्री तथा भाजपाका वरिष्ठ नेता रवनीत सिंह बिट्टुले यो जानकारी दिएका हुन्।
बिट्टु अनुसार, अमित शाह दिनभरि पञ्जाबमा रहनेछन् र लागुऔषधका कारण प्रभावित परिवारहरूसँग भेट गर्नेछन्। लगभग एक महिनाभित्र गृहमन्त्री पञ्जाब आउन लागेको यो दोस्रो पटक हो। भाजपाले यस भ्रमणलाई राज्यमा लागुऔषधको समस्या विरुद्ध सञ्चालन गरिरहेको आफ्नो अभियानसँग जोड़ेर हेरेको छ।
मानसामा मेडिकल स्टोर सञ्चालकले १३ अक्टोबरमा लागुऔषधको विरोध गरेको भन्दै झोटाको गोली हानी हत्या गरेका थिए। त्यसको ठीक दुई दिनपछि, १५ अक्टोबरको राति श्री हरगोबिन्दपुर साहिब क्षेत्रको माड़ी पन्नवाँ गाउँमा लागुऔषध बिक्रीको विरोध गरेको भन्दै विक्रमजीत सिंहको पनि गोली हानी हत्या गरिएको थियो। गुलजार सिंहले ८ सेप्टेम्बरमा कीटनाशक सेवन गरेर आत्महत्या गरेका थिए। मृत्यु हुनुअघि उनले आफूले गाउँमा हेरोइन (लागुऔषध) बिक्री भइरहेको विषयमा मन्त्री हरपाल सिंह चीमलाई उजुरी दिएको र त्यसपछि आफूलाई धम्की दिइएको बताएका थिए।
पञ्जाबमा विधानसभा निर्वाचन हुन अब तीन महिनाको समय बाँकी छ। भाजपाले पञ्जाबमा लागुऔषधको मुद्दालाई प्रमुखताका साथ उठाउँदै ‘नशामुक्त पञ्जाब यात्रा’ सञ्चालन गरिसकेको छ। गृहमन्त्री अमित शाह ३० सेप्टेम्बरमा यस यात्राको समापन कार्यक्रममा सहभागी हुन जालन्धर आएका थिए। अमित शाहले पञ्जाबमा भाजपाको सरकार बनेपछि ३१ दिसम्बर, २०२९ सम्म राज्यलाई लागुऔषधमुक्त बनाउने घोषणा गरिसकेका छन्।
अब अमित शाहको पञ्जाब भ्रमणलाई लागुऔषधको मुद्दाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। हालै झोटाको मृत्युका विषयमा गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, “म आज पञ्जाबका जनता सामू आफ्नो सङ्कल्प दोहोर्याउँछु कि पञ्जाबमा हाम्रो सरकार बनेपछि हामी लागुऔषधमुक्त, ग्याङस्टरमुक्त र सुरक्षित पञ्जाब बनाउन पूर्ण शक्तिका साथ काम गर्नेछौँ। हाम्रो लक्ष्य स्पष्ट छ—लागुऔषधको कारोबारमाथि प्रहार गर्ने, युवाहरूको भविष्यको रक्षा गर्ने, अपराधीहरूमाथि कड़ा कारबाही गर्ने र यस्तो कानूनी शासन स्थापना गर्ने, जहाँ कुनै पनि नागरिकलाई भयको छायामा जीवन बिताउन बाध्य हुन नपरोस्।”
हिन्दुस्थान समाचार / भवानी थामी