
गान्तोक, १८ अक्टोबर (हि.स.)। सिक्किमका निवर्तमान राज्यपाल ओमप्रकाश माथुरको सम्मानमा शनिवार सॉंझ सम्मान भवनमा बिदाई रात्रिभोज आयोजना गरिएको छ। निवर्तमान राज्यपाल माथुर केरलाका राज्यपाल नियुक्त भएका छन्। उनी आज गान्तोकबाट प्रस्थान गरेका छन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङले सामाजिक सञ्जालमा राज्यपाल माथुरलाई गहिरो सम्मान तथा हार्दिक कृतज्ञतासहित बिदाई गरिएको बताएका छन्। उनको सम्मानमा सम्मान भवनमा बिदाई रात्रिभोजको आयोजना गरिएको उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्री तामाङले राज्यपाल माथुरले सिक्किमका जनतालाई प्रदान गरेका अमूल्य मार्गदर्शन, स्नेह तथा अटुट प्रतिबद्धताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। आफ्नो कार्यकालमा उनले राज्यको संवैधानिक प्रमुखका रूपमा मात्र नभई एक मार्गदर्शक तथा शुभचिन्तकका रूपमा समेत जनताको मन जित्नेको मुख्यमन्त्रीले उल्लेख गरेका छन्।
उनको संवेदनशील दृष्टिकोण, विपन्न तथा वञ्चित वर्गप्रतिको चासो र सिक्किमको ऐतिहासिक स्वर्ण जयन्ती समारोहका क्रममा प्रदान गरेको महत्त्वपूर्ण मार्गदर्शनले राज्य तथा यहाँका जनतामा गहिरो छाप छाडेको मुख्यमन्त्री तामाङले बताएका छन्। भारी मनका साथ राज्यपाल माथुरलाई बिदाई गर्दै मुख्यमन्त्रीले उनको सुस्वास्थ्य, सुख, शान्ति तथा आगामी जिम्मेवारीहरूमा सफलताको हार्दिक कामना गरेका छन्।
मुख्यमन्त्रीले सिक्किमसँग उनको विशेष सम्बन्ध सदैव कायम रहने उल्लेख गर्दै राज्यपाल माथुरले सिक्किमका जनताको हृदयमा सधैँ विशेष स्थान ओगटिरहनुहुने बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल