
गान्तोक, १८ अक्टोबर (हि.स.)। सिक्किमका निवर्तमान राज्यपाल ओमप्रकाश माथुर केरलको राज्यपाल नियुक्त भएपछि आइतबार सिक्किमबाट प्रस्थान गरेका छन्। उनको बिदाईका अवसरमा सम्मान भवनमा शनिबार साँझ बिदाई रात्रिभोज आयोजना गरियो भने आइतबार बिहान लोकभवनमा अधिकारी तथा कर्मचारीहरूले औपचारिक रूपमा बिदाई गरे। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यपाल माथुरप्रति गहिरो सम्मान, कृतज्ञता तथा शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमार्फत राज्यपाल माथुरले आफ्नो कार्यकालभरि सिक्किमका जनतालाई प्रदान गरेको अमूल्य मार्गदर्शन, आत्मीयता तथा अटुट प्रतिबद्धताका लागि हार्दिक आभार व्यक्त गरेका छन्। सिक्किमका जनताप्रति उनको स्नेह र राज्यका लागि पुर्याएको योगदानले गहिरो छाप छाडेको उल्लेख गर्दै मुख्यमन्त्रीले उनको योगदानलाई सधैँ उच्च सम्मानका साथ स्मरण गरिने बताएका छन्।
मुख्यमन्त्रीले राज्यपाल माथुरले राज्यको संवैधानिक प्रमुखका रूपमा मात्र नभई एक मार्गदर्शक तथा शुभचिन्तकका रूपमा पनि जनताको मन जित्न सफल भएको उल्लेख गरेका छन्। मुख्यमन्त्रीले उनको संवेदनशील दृष्टिकोण, विपन्न तथा वञ्चित वर्गप्रतिको चासो र सिक्किमको ऐतिहासिक स्वर्ण जयन्ती समारोहका क्रममा प्रदान गरेको महत्त्वपूर्ण मार्गदर्शनले राज्य तथा यहाँका जनतामा स्थायी छाप छाडेको बताएका छन्।
भारी मनका साथ राज्यपाल माथुरलाई बिदाई गर्दै मुख्यमन्त्री तामाङले उनको सुस्वास्थ्य, सुख, शान्ति तथा आगामी जिम्मेवारीहरूमा निरन्तर सफलताको कामना गरेका छन्। उनले सिक्किमसँग उनको विशेष सम्बन्ध सदैव कायम रहने र उनले राज्यका जनताको हृदयमा सधैँ विशेष स्थान ओगटिरहने पनि उल्लेख गरेका छन्। उनले माथुरको आगामी यात्रा सन्तुष्टिदायी हुनुका साथै राष्ट्रको सेवामा थप अवसरहरू प्राप्त होऊन् भन्ने शुभकामना व्यक्त गरेका छन्।
निवर्तमान राज्यपाल माथुरको सम्मानमा शनिबार साँझ सम्मान भवनमा बिदाई रात्रिभोज आयोजना गरिएको थियो। कार्यक्रममा उनको कार्यकालमा सिक्किमका जनताप्रति देखाएको स्नेह, समर्पण तथा राज्यको विकास र जनकल्याणका क्षेत्रमा प्रदान गरेको मार्गदर्शनको स्मरण गरिएको थियो।
आइतबार बिहान लोकभवनमा आयोजित औपचारिक बिदाई समारोहमा राज्यपाल माथुरले सिक्किममा बिताएका दिनका अनुभवहरू साझा गरे। उनले सिक्किममा बिताएको समयलाई आफ्नो जीवनको ‘स्वर्णिम काल’ बताएका छन्।
सिक्किम बसाइका क्रममा राजभवनका अधिकारी, कर्मचारी तथा राज्यका जनताबाट प्राप्त अटुट स्नेह, सम्मान र सहयोगका लागि उनले सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। लोकभवनले प्रदान गरेको आतिथ्य सत्कारको प्रशंसा गर्दै उनले आफ्नो लामो सार्वजनिक जीवनमा सिक्किमको बसाइलाई सबैभन्दा सुन्दर अनुभवका रूपमा वर्णन गरे। यहाँ बिताएका दिनका सम्झनाहरू सधैँ आफ्नो हृदयमा रहने उनले बताए।
उल्लेखनीय छ, राज्यपाल ओमप्रकाश माथुरलाई केरलको राज्यपाल नियुक्त गरिएको छ भने भाजपाका वरिष्ठ नेता दुष्यन्त कुमार गौतमलाई सिक्किमको नयाँ राज्यपाल नियुक्त गरिएको छ। नवनियुक्त राज्यपाल गौतमको शपथ ग्रहण समारोह १९ अक्टोबरमा आयोजना गर्ने कार्यक्रम रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल