
गान्तोक, १८ अक्टोबर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरलाई केरलको नयाँ राज्यपाल नियुक्त गरिएको छ। राज्यपाल माथुर आज सिक्किमबाट प्रस्थान गरेका छन् भने आइतवार बिहान लोकभवनमा अधिकारी तथा कर्मचारीहरूले औपचारिक रूपमा बिदाई गरेका छन्। बिदाई समारोहमा लोकभवन परिवारका सबै वरिष्ठ अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै राज्यपाल माथुरले सिक्किममा आफ्नो कार्यकालका अनुभवहरू साझा गरे। उनले सिक्किममा बिताएको समयलाई आफ्नो जीवनको ‘स्वर्णिम काल’ बताए। उनले सिक्किम बसाइका क्रममा राजभवनका अधिकारी, कर्मचारी तथा राज्यका जनताबाट प्राप्त अटुट स्नेह, सम्मान र सहयोगका लागि सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।
लोकभवनले प्रदान गरेको आतिथ्य सत्कारको प्रशंसा गर्दै उनले आफ्नो लामो सार्वजनिक जीवनमा सिक्किमको बसाइलाई सबैभन्दा सुन्दर अनुभवका रूपमा वर्णन गरे। उनले यहाँ बिताएका दिनका सम्झनाहरू सधैँ आफ्नो हृदयमा रहने बताए।
समारोहका क्रममा लोकभवन परिवारका तर्फबाट राज्यपाल माथुरको उत्कृष्ट मार्गदर्शन तथा कुशल नेतृत्वका लागि आभार व्यक्त गरियो। अधिकारी तथा कर्मचारीहरूले उनीसँग काम गर्दाको अनुभव अत्यन्तै प्रेरणादायी रहेको बताए।
यस अवसरमा राज्यपालका ओएसडी रतीश चतुर्वेदी, निजी सचिव अखिलेश मिश्र तथा निजी सहायक बगधा रामलाई पनि बिदाइ गरिएको थियो। लोकभवन परिवारले राज्यपाल माथुरको सफल जीवन, उत्तम स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै केरलको राज्यपालका रूपमा उनको नयाँ जिम्मेवारीका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल