मुख्यमन्त्री तामाङद्वारा निवर्तमान राज्यपाल ओमप्रकाश माथुरप्रति कृतज्ञता व्यक्त
मुख्यमन्त्री तामाङद्वारा निवर्तमान राज्यपाल ओमप्रकाश माथुरप्रति कृतज्ञता व्यक्त


गान्तोक, १८ अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका निर्वतमान राज्यपाल ओमप्रकाश माथुरलाई गहिरो सम्मान तथा हार्दिक कृतज्ञतासहित बिदाई गरेका छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमार्फत आफ्नो कार्यकालभरि राज्यपाल माथुरले प्रदान गरेका अमूल्य मार्गदर्शन, आत्मीयता तथा सिक्किमका जनताप्रति देखाएको अटुट प्रतिबद्धताका लागि हार्दिक आभार व्यक्त गरेका छन्। सिक्किमका जनताप्रति उनको स्नेह र राज्यका लागि पुर्‍याएको योगदानले गहिरो छाप छाडेको उल्लेख गर्दै मुख्यमन्त्रीले यी योगदानहरूलाई सधैँ उच्च सम्मानका साथ स्मरण गरिने बताएका छन्।

मुख्यमन्त्रीले निवर्तमान राज्यपाल माथुरको सुस्वास्थ्य, सुख, शान्ति तथा आगामी सबै कार्यमा निरन्तर सफलताको कामना पनि गरेका छन्। साथै, आगामी यात्रा सन्तुष्टिदायी हुनुका साथै राष्ट्रको सेवामा थप अवसरहरू प्राप्त होऊन् भन्ने शुभकामना व्यक्त गरेका छन्।

उल्लेखनीय छ, राज्यपाल ओमप्रकाश माथुरलाई केरलाको राज्यपाल नियुक्त गरिएको छ। अर्कातिर, भाजपाका वरिष्ठ नेता दुष्यन्त कुमार गौतमलाई सिक्किमको राज्यपाल नियुक्त गरिएको छ। नवनियुक्त राज्यपाल गौतमको भोलि 19 अक्टोबरमा सिक्किमका राज्यपालको रूपमा शपत ग्रहण कार्यक्रम प्रस्तावित रहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande