
खरसाङ, 19 अक्टोबर (हि.स.)। खरसाङ नगरपालिका क्षेत्रका वार्डहरूबीच आयोजित एमएलए कप अन्तर वार्ड फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर १० ले जितेको छ। सोमबार खरसाङको मन्टिभियट खेल मैदानमा सम्पन्न फाइनल खेलमा वार्ड नम्बर १० ले वार्ड नम्बर ५ लाई ५-१ गोलको अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो।
हिल फुटबल एकाडेमीको आयोजनामा गत ९ अक्टोबरदेखि सञ्चालित यस प्रतियोगितामा खरसाङ नगरपालिका क्षेत्रका वार्ड नम्बर १ देखि २० सम्मका टोलीहरूले सहभागिता जनाएका थिए।
फाइनल खेल शुरु भएको दोस्रो मिनेटमै वार्ड नम्बर १० का नवाङ बलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा छिरिङ गोले र नर्बु लामाले थप गोल गरेपछि वार्ड नम्बर १० ले ३-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा नितेस प्रधान र नवाङ बलले थप एक-एक गोल गर्दै टोलीको गोल सङ्ख्या पाँच पुर्याए। वार्ड नम्बर ५ का तर्फबाट प्रज्वल गजमेरले एक मात्र गोल गरेका थिए।
यस जितसँगै वार्ड नम्बर १० ले ट्रफीसहित ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्यो। फाइनल खेलमा राज्यका पर्यटनमन्त्री शंकर घोष प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशिष्ट अतिथिका रूपमा खरसाङका विधायक सोनाम लामा, खरसाङका महकुमा शासक पेमा शेर्पालगायत अन्य व्यक्तिहरू उपस्थित थिए।
फाइनल खेलअघि एमएलए सेभेन र अल स्टार सेभेनबीच प्रदर्शनी खेल पनि सम्पन्न भएको थियो। उक्त खेलमा दुवै टोलीले तीन-तीन गोल गरेपछि खेल बराबरीमा टुङ्गिएको थियो। प्रदर्शनी खेलमा भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री, पूर्व राष्ट्रिय खेलाडीहरू निर्मल छेत्री, नगेन तामाङ र जितेन राईलगायत राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरूले सहभागिता जनाएका थिए। खरसाङका विधायक सोनाम लामाले पनि खेलमा सहभागिता जनाएका थिए।
प्रतियोगितामा वार्ड नम्बर १० का नवाङ बल ‘म्यान अफ द म्याच’ घोषित भए भने वार्ड नम्बर ५ का प्रज्वल गजमेर ‘म्यान अफ द टुर्नामेन्ट’ चुनिए। त्यसैगरी, उत्कृष्ट गोलरक्षकको उपाधि वार्ड नम्बर १० का अभिषेक ठटालले प्राप्त गरे भने सर्वाधिक गोलकर्ताको उपाधि सोही वार्डका नर्बु लामाले जिते।
प्रतियोगिताबारे पत्रकारहरूसँग कुराकानी गर्दै खरसाङका विधायक सोनाम लामाले स्थानीय खेलाडीहरूलाई संरक्षण प्रदान गर्नुका साथै आफ्नो प्रतिभा प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले आगामी दिनमा खरसाङ विधानसभा क्षेत्रलाई समेटेर पनि यस्तै प्रतियोगिता आयोजना गर्ने योजना रहेको जानकारी दिए।
विधायक लामाले खरसाङमा सुविधासम्पन्न खेल मैदान तथा स्टेडियम निर्माणका लागि समेत पहल भइरहेको बताए।
यसैबीच, आयोजक समितिका संयोजक, हिल फुटबल एकाडेमीका निर्देशक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी नगेन तामाङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
हिन्दुस्थान समाचार / हनोक