
गान्तोक, 20 अक्टोबर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का अध्यक्ष पवन चाम्लिङले नेपालीहरूको महान् पर्व बडा दशैं २०२६ को अवसरमा सम्पूर्ण नेपाली समुदायमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
आफ्नो शुभकामना सन्देशमा चाम्लिङले बडा दशैंलाई असत्यमाथि सत्यको र अन्धकारमाथि उज्यालोको विजयका रूपमा व्याख्या गर्दै यस पर्वले सबैलाई सत्य तथा सुन्दर मूल्यहरूको पक्षमा उभिने साहस, चेतना र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले समाजमा विद्यमान तामसी, विध्वंसक तथा नकारात्मक शक्ति र प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्दै समाज तथा समग्र मानवजातिको हितमा अघि बढ्ने शक्ति यस महान् पर्वले प्रदान गरोस् भन्ने कामना गरेका छन्।चाम्लिङले बडा दशैंको अवसरमा सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् भन्दै अभाव, अन्याय र अत्याचारबाट सबै मानिसहरू मुक्त हुन सकून् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल