
नयाँ दिल्ली, २० अक्टोबर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु र लोकसभा अध्यक्ष ओम बिरलाले मङ्गलबार एसियाली पारा खेलकुद २०२६ मा पदक जित्ने भारतीय खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्।
महिला एकल वर्ग ४-५ टेबल टेनिस स्पर्धामा कांस्य पदक जित्ने भाविना पटेल, महिला एकल वर्ग ३ पारा टेबल टेनिसमा आफ्नो पहिलो एकल कांस्य पदक जित्ने सोनलबेन पटेल, पुरुष शटपुट एफ-११ स्पर्धामा कांस्य पदक जित्ने प्रवीण शर्मा तथा महिला ४०० मिटर टी-२० स्पर्धामा स्वर्ण पदक जित्ने दीप्ति जीवनजीलाई उनीहरूले बधाई दिएका हुन्।
राष्ट्रपति मुर्मुले सामाजिक सञ्जाल एक्समार्फत भाविना पटेलको उपलब्धिले उनको खेल यात्रालाई नयाँ गति प्रदान गर्नुका साथै अझ ठूला लक्ष्य निर्धारण गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेकी छन्। उनले सोनलबेन पटेलको उपलब्धिलाई खेल जीवनको विशेष उपलब्धि बताउँदै यसले टेबल टेनिसका अन्य उदीयमान खेलाडीहरूलाई पूर्ण आत्मविश्वासका साथ आफ्ना सपना साकार पार्न प्रेरित गर्ने आशा व्यक्त गरेकी छन्। त्यसैगरी, दीप्ति जीवनजीले खेलकुदको नयाँ कीर्तिमान कायम गर्दै आफ्नो उपाधि सफलतापूर्वक जोगाउन सकेकामा राष्ट्रपति मुर्मुले खुशी व्यक्त गरेकी छन्। उनको उत्कृष्ट प्रदर्शनप्रति सम्पूर्ण भारत गौरवान्वित भएको उनले उल्लेख गरेकी छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले पनि दीप्ति जीवनजीको उपलब्धिको प्रशंसा गर्दै भारतका लागि यो शानदार स्वर्ण पदक जित भएको बताएका छन्। दीप्तिले ५६.३६ सेकेन्डको नयाँ खेलकुद कीर्तिमान कायम गर्दै आफ्नो उपाधि जोगाएको उल्लेख गर्दै उनले यस उपलब्धिलाई सम्पूर्ण देशका लागि गर्वको विषय बताएका छन्।
उल्लेखनीय छ, भारतीय पारा खेलाडी प्रवीण शर्माले आइची-नागोया एसियाली पारा खेलकुद २०२६ को पुरुष गोला प्रक्षेपण एफ-११ स्पर्धामा कांस्य पदक जितेका छन्। आफ्नो पहिलो एसियाली पारा खेलकुद सहभागितामै १९ वर्षीय प्रवीणले अन्तिम प्रयासमा १३.८६ मिटर गोला प्रक्षेपण गर्दै व्यक्तिगत उत्कृष्ट प्रदर्शनसहित तेस्रो स्थान हासिल गरेका हुन्।
हिन्दुस्थान समाचार / भवानी थामी