
उधमपुर, २१ अक्टोबर (हि.स.)। जम्मूको उधमपुर जिल्लामा बुधबार बस सडकबाट चिप्लिएर भिरबाट खस्दा एक बालिकाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्। बसन्तगढ-रामनगर सडकमा उक्त दुर्घटना भएको हो।
एक अधिकारीका अनुसार लट्टी-बसन्तगढ तहसिलको पचौण्ड क्षेत्रमा गुल्ली गालानजिक दुर्घटना भएको हो। उनले गम्भीर रूपमा घाइते भएका छ जना यात्रुलाई उपजिल्ला अस्पताल रामनगर पठाइएको र अन्य घाइतेहरूको उपचार प्राथमिक स्वास्थ्य केन्द्र बसन्तगढमा भइरहेको जानकारी दिए।
केन्द्रिय मन्त्री डा. जितेन्द्र सिंहले दुर्घटनापछि आफूले उधमपुरका उपायुक्त अनन्त द्विवेदीसँग कुराकानी गरेको बताएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा सिंहले स्थानीय बासिन्दाको समयमै सहयोगका कारण सबै यात्रुलाई तत्काल उद्धार गर्न सकिएको उल्लेख गरेका छन्।
उनका अनुसार, उद्धार टोली घटनास्थलमा पुगिसकेको छ र आवश्यक सबै सहयोग उपलब्ध गराइँदै छ। मृतक बालिकाको पहिचान तथा दुर्घटनाको कारणलगायत अन्य विवरण आउन बाँकी छ।
/ बिशाल