
नयाँ दिल्ली, २१ अक्टोबर (हि.स.)। पञ्जाबमा लागुऔषधविरुद्ध अभियान चलाउँदै आएका कार्यकर्ता परविन्दर सिंह झोटाको हत्याको अनुसन्धान केन्द्रिय अन्वेषण ब्युरो (सीबीआई) ले आफ्नो हातमा लिएलगत्तै उनको घर पुगेर परिवारका सदस्यहरूसँग भेटघाट गरेको छ। सीबीआईको टोली घटनासँग सम्बन्धित पुलिस अभिलेख तथा जफत गरिएका सामग्री आफ्नो नियन्त्रणमा लिन मङ्गलबार राति मानसा पुलिस थानामा पुगेको थियो। यस सम्बन्धमा एजेन्सीले पुलिसलाई औपचारिक पत्रसमेत जारी गरेको छ।
सीबीआईका वरिष्ठ उपमहानिरीक्षक (डीआईजी) को नेतृत्वमा रहेको टोलीले बुधबार पीडित परिवारसँग भेट गरी उनीहरूको पक्ष बुझेको छ। सीबीआईका अधिकारीहरू झोटाको घर पुगेर परिवारका सदस्यहरूको हालखबर सोध्नुका साथै घटनासँग सम्बन्धित विभिन्न तथ्यबारे जानकारी लिएका छन्। घटनाको अनुसन्धानका लागि फरेन्सिक विशेषज्ञ, औषधि नियन्त्रक तथा अन्य विशेषज्ञहरू पनि मानसा पुग्ने जानकारी प्राप्त भएको छ।
यस घटनामा पोस्टमार्टम चण्डीगढस्थित पीजीआईमा विशेषज्ञहरूको टोलीले गर्नेछ। चण्डीगढमा मजिस्ट्रेटको निगरानीमा अनुसन्धानसम्बन्धी प्रक्रिया पनि सञ्चालन गरिनेछ। परिवारका सदस्यहरूसँग कुराकानी गरेपछि सीबीआईको टोलीले घटनासँग सम्बन्धित तथ्य र प्रमाणहरूको जाँचलाई अगाडि बढाउनेछ।
उल्लेखनीय छ, परविन्दर सिंह झोटाको १३ अक्टोबरमा मानसाको बजारभित्र रहेको एउटा मेडिकल स्टोरमा गोली हानी हत्या गरिएको थियो। उनी मेडिकल स्टोरहरूमा लागुऔषधजन्य औषधिको कथित अवैध बिक्रीविरुद्ध आवाज उठाउँदै आएका थिए। घटनाका बेला उनी सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिरहेका थिए। यस घटनामा मेडिकल स्टोर सञ्चालक अश्विनी कुमारलाई पक्राउ गरिएको थियो।
झोटाका परिवारका सदस्यहरूले घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका थिए। त्यसपछि पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले २० अक्टोबरमा अनुसन्धान सीबीआईलाई सुम्पिने घोषणा गरेका थिए। केन्द्रिय गृहमन्त्री अमित शाहले पनि मङ्गलबार परिवारसँग भेटघाट गरेका थिए। अब सीबीआईले हत्यासँग सम्बन्धित सबै पक्षको अनुसन्धान गर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी