
देहरादून, २१ अक्टोबर (हि.स.)। उत्तराखण्डमा विद्यालयका रूपमा मान्यता प्राप्त मदरसाहरूमा अब शुक्रवारको सट्टा आइतवार साप्ताहिक बिदा हुनेछ। राज्य सरकारले यी संस्थाहरूलाई शिक्षा विभाग र उत्तराखण्ड अल्पसङ्ख्यक शिक्षा प्राधिकरणले निर्धारण गरेका नियमहरूको पालना गर्न निर्देश दिएको छ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले एक बयानमा सरकारले सबै बालबालिकालाई समान अवसर र गुणस्तरीय शिक्षा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन्। विद्यालयका रूपमा मान्यता प्राप्त मदरसाहरूमा शिक्षा विभागका नियमहरू लागू हुनेछन् र नियमहरूको पालना नगर्ने संस्थाहरूलाई सञ्चालनको अनुमति दिइने छैन।
सरकार अनुसार, नयाँ व्यवस्था अन्तर्गत अहिलेसम्म ७६ वटा संस्थाले विद्यालयका रूपमा मान्यता प्राप्त गरिसकेका छन् भने ११४ वटा आवेदन प्रक्रियामा रहेका छन्। उत्तराखण्ड अल्पसङ्ख्यक शिक्षा प्राधिकरणका अध्यक्ष डा. सुरजीत सिंह गान्धीले मान्यता प्राप्त संस्थाहरूमा हरिद्वारका ४४, उधमसिंह नगरका २४, देहरादूनका ६ र नैनीतालका २ वटा संस्था रहेको जानकारी दिएका छन्।
सरकारले उत्तराखण्ड मदरसा बोर्ड खारेज गरेपछि अल्पसङ्ख्यक शैक्षिक संस्थाहरूका लागि नयाँ व्यवस्था लागू गरेको हो। यसअघि मदरसा बोर्डबाट ४५२ वटा मदरसाले मान्यता प्राप्त गरेका थिए। नयाँ व्यवस्था अन्तर्गत संस्थाहरूले निर्धारित शैक्षिक मापदण्डअनुसार मान्यता लिनुपर्नेछ।
अल्पसङ्ख्यक विभागका सचिव डा. पराग मधुकर धकातेले राज्यमा पहिलो चरणमा २५० वटा अवैध मदरसामा सिलबन्दी गरिएको जानकारी दिएका छन्। उनी अनुसार, यी संस्थाहरू मदरसा बोर्डमा दर्ता भएका थिएनन्। यी संस्थाहरूमा बाहिरी राज्यहरूबाट बालबालिका ल्याएर पढ़ाउने गरिएको जानकारी समेत प्राप्त भएको थियो।
/ बिशाल