
नयाँ दिल्ली, २१ अक्टोबर (हि.स.)। पुलिस स्मृति दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति सीपी राधाकृष्णन, केन्द्रिय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रिय सडक परिवहनमन्त्री नितिन गडकरी तथा कृषिमन्त्री शिवराज सिंह चौहानले वीर शहीद पुलिसकर्मीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। नेताहरूले देशको आन्तरिक सुरक्षा, कानुन-व्यवस्था कायम राख्न तथा नागरिकको रक्षा गर्ने क्रममा पुलिसकर्मीहरूले देखाएको साहस, समर्पण र बलिदानको स्मरण गरेका छन्।
उपराष्ट्रपति सीपी राधाकृष्णनले पुलिस स्मृति दिवसका अवसरमा कर्तव्य निर्वाह गर्ने क्रममा शहीद भएका बहादुर पुलिसकर्मीहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले नागरिकको सुरक्षा र राष्ट्रको रक्षाका लागि पुलिसकर्मीहरूले देखाएको साहस, बलिदान तथा अटुट समर्पणलाई सधैँ गहिरो सम्मान र कृतज्ञताका साथ स्मरण गरिने बताए। उनले देशभर शान्ति, सुरक्षा र कानुन-व्यवस्था कायम राख्न पूर्ण निष्ठा र इमानदारीका साथ सेवा प्रदान गरिरहेका सबै प्रहरीकर्मीहरूप्रति पनि सम्मान व्यक्त गरे।
प्रधानमन्त्री नरेन्द्र मोदीले पुलिस स्मृति दिवसका अवसरमा देशका सबै पुलिसकर्मीप्रति आभार व्यक्त गरे। उनले कानुन-व्यवस्था कायम राख्न, अपराध नियन्त्रण गर्न, आपत्कालीन अवस्थामा सहायता पुर्याउन तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न पुलिसकर्मीहरूले दिएको योगदान अमूल्य रहेको बताए।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समा आफ्नो सन्देशमार्फत प्रहरी स्मृति दिवस चुनौतीपूर्ण परिस्थितिमा समेत पूर्ण प्रतिबद्धताका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने पुलिसकर्मीप्रति कृतज्ञता व्यक्त गर्ने अवसर भएको बताए। उनले कर्तव्य निर्वाह गर्ने क्रममा आफ्नो प्राणको आहुति दिने वीर जवानहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको साहस, अटुट समर्पण र सर्वोच्च बलिदान राष्ट्रको स्मृतिमा सधैँ अंकित रहने बताए।
केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाहले पुलिस स्मृति दिवसका अवसरमा देशका लागि सर्वोच्च बलिदान दिने प्रहरीकर्मीहरूलाई नमन गरे। उनले मातृभूमिको मान-सम्मान र नागरिकको रक्षाका लागि प्रहरीकर्मीहरूले आफ्नो प्राण न्योछावर गरेर देशभक्तिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए। उनले राष्ट्रका तर्फबाट शहीद पुलिसकर्मीहरूप्रति कृतज्ञता व्यक्त गरे।
रक्षामन्त्री राजनाथ सिंहले पुलिसकर्मीहरूको अमूल्य सेवाप्रति आभार व्यक्त गरे। उनले नागरिकको सुरक्षा, कानुन-व्यवस्था कायम राख्न तथा कानुनको पालना सुनिश्चित गर्ने दिशामा पुलिसकर्मीहरूको साहस र समर्पण राष्ट्रिय सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए। उनले कर्तव्य निर्वाह गर्ने क्रममा सर्वोच्च बलिदान दिने वीर जवानहरूप्रति श्रद्धाञ्जली पनि अर्पण गरे।
केन्द्रिय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीले देशको आन्तरिक सुरक्षा र रक्षाका लागि आफ्नो प्राणको आहुति दिने वीर पुलिसकर्मीहरूको साहस, कर्तव्यनिष्ठा र बलिदानप्रति सम्मान व्यक्त गरे।
केन्द्रिय कृषिमन्त्री शिवराज सिंह चौहानले सेवा, समर्पण र साहसका साथ मातृभूमिको रक्षाका लागि सर्वोच्च बलिदान दिने शहीद पुलिसकर्मीहरूप्रति श्रद्धासुमन अर्पण गरे। उनले वीर जवानहरूको व्यक्तित्व र बलिदानले देशको अखण्डता अक्षुण्ण राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले प्रत्येक भारतीय नागरिकलाई यी वीर जवानहरूप्रति सधैँ गर्व रहने पनि बताए।
हिन्दुस्थान समाचार / भवानी थामी