
महोबा, २२ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको बुन्देलखण्ड स्थित महोबा जिल्लाको चरखारीमा सरकारी बीउ गोदामबाट चनाको बीउ चोरी भएको घटना सार्वजनिक भएको छ। भारतीय जनता पार्टी (भाजपा) का विधायक ब्रजभूषण राजपूतले यस घटनाको खुलासा गरेका हुन्। जिल्ला कृषि अधिकारीको उजुरीका आधारमा गोदाम प्रभारी सहित दुई जना विरुद्ध बुधबार राति मुद्दा दर्ता गरिएको छ।
जिल्ला कृषि अधिकारी प्रकाश चन्द्र विश्वकर्मा अनुसार, गोदाम प्रभारी सोने यादव र चौथो श्रेणीका कर्मचारी राधेश्याम साहूमाथि मनोमानी ढङ्गले बीउ वितरण तथा भण्डारणमा अनियमितता गरेको आरोप छ। कर्मचारी राधेश्यामले गोदाममा राखिएको बीउ चोरी गरी अन्यत्र पठाउने गरेको आरोप समेत लगाइएको छ।
चरखारी थाना प्रभारी राहुल मिश्रा अनुसार, दुवै जना विरुद्ध मुद्दा दर्ता गरी घटनाको अनुसन्धान भइरहेको छ।
स्थानीय किसान रामकिशोर, मुन्ना र नरेन्द्र लगायतले किसानलाई वितरण गरिने उन्नत जातको चनाको बीउ रातको समयमा लोडरमा राखेर बाहिर पठाउने गरिएको आरोप लगाएका छन्। उनीहरू अनुसार, गोदाममा बीउ लिन जाने किसानलाई भने ‘बीउ सकिएको छ’ वा ‘नयाँ स्टक आएको छैन’ भन्दै फर्काउने गरिएको थियो।
गत राति गोदामबाट लोडरमा बीउका बोराहरू लोड भइरहेको देखेपछि किसानहरूले जानकारी लिएका थिए। त्यसपछि विधायक ब्रजभूषण राजपूतलाई खबर गरिएको थियो। घटनास्थल पुगेका विधायकले लोडरमा चनाको बीउका करिब १०० बोरा लोड गरिएको देखेपछि गोदाम प्रभारीसँग सोधपुछ गरेका थिए। प्रभारीले सन्तोषजनक जवाफ दिन नसकेको र भ्रममा पार्न खोजेको भन्दै विधायकले उनलाई हप्काएका थिए।
यस घटना सम्बन्धी भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको छ।
/ बिशाल