
धर्मशाला, २३ अक्टोबर (हि.स.)। केन्द्रिय तिब्बती प्रशासन (सीटीए) को ‘कशाग’ (मन्त्रिपरिषद्) ले गए राति तिब्बतको नागचू क्षेत्रमा पर्ने ड्रेचेन काउन्टीमा आएको विनाशकारी भूकम्पप्रति गहिरो दुःख र गम्भीर चिन्ता व्यक्त गरेको छ। शुक्रबार जारी आफ्नो आधिकारिक वक्तव्यमा काशागले शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दै प्रभावित समुदायहरूसँग ऐक्यबद्धता व्यक्त गरेको छ। साथै, ज्यान गुमाएकाहरूले शान्तिपूर्ण पुनर्जन्म प्राप्त गरून् र घाइतेहरू शीघ्र स्वस्थ होऊन् भन्ने कामना गर्दै प्रार्थना गरेको छ।
काशागले आफ्नो वक्तव्यमा मानवीय उद्धार तथा राहत कार्य तत्काल सञ्चालन गर्नुपर्ने आवश्यकता, हताहत तथा विनाशसम्बन्धी विवरण सार्वजनिक गर्दा पारदर्शिता कायम गर्नुपर्ने, तिब्बती धार्मिक परम्पराको संरक्षण गर्नुपर्ने र मानवीय सहायता निर्बाध रूपमा प्रभावित क्षेत्रमा पुग्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने विषयमा विशेष जोड दिएको छ।
सीटीएले तिब्बतका अन्य क्षेत्रबाट भूकम्प प्रभावित समुदायलाई सहयोग गर्न आइरहेका तिब्बती स्वयंसेवकहरूलाई चिनियाँ सेनाले विपद् प्रभावित क्षेत्रमा प्रवेश गर्न रोकिरहेको भन्ने समाचारप्रति पनि चिन्ता व्यक्त गरेको छ।
काशागले राजनीतिक तथा प्रशासनिक प्रतिबन्धभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने बताएको छ। काशागले विभिन्न सरकार तथा अन्तरराष्ट्रिय समुदायलाई चिनियाँ अधिकारीहरूमाथि दबाउ दिन अपील गरेको छ, ताकि पारदर्शिता कायम रहोस् र मानवीय सहायता प्रभावित क्षेत्रमा कुनै अवरोधबिना पुग्न सकोस्।
हिन्दुस्थान समाचार / बिशाल