
आइची-नागोया, २३ अक्टोबर (हि.स.)। एसियाली पारा खेलकुद २०२६ मा भारतीय खेलाडीहरूको उत्कृष्ट प्रदर्शन जारी रहेको छ। शुक्रबार प्रतियोगिताको पाँचौँ दिन हरविन्दर सिंह र विजय सुन्डीको जोडीले पुरुष रिकर्भ युगल तीरन्दाजी स्पर्धामा स्वर्ण पदक जित्दै इतिहास रचेको छ। यसबाहेक थुलासिमति मुरुगेसन, प्रमोद तथा महिला रिकर्भ युगल जोडी भावना र पूजाले रजत पदक जितेका छन्।
पुरुष रिकर्भ युगल स्पर्धाको फाइनलमा हरविन्दर सिंह र प्रतियोगितामा पहिलोपटक सहभागी भएका विजय सुन्डीको जोडीले चीनलाई ५-१ ले पराजित गर्दै स्वर्ण पदक जित्यो। दुवै टोलीबीचको पहिलो सेट ३५-३५ अङ्कमा बराबरी भएको थियो। त्यसपछि भारतीय जोडीले दोस्रो सेटमा ३७-३६ र तेस्रो सेटमा ३८-३६ को जित दर्ता गर्दै उपाधि आफ्नो नाममा गर्यो। दबाउका बीच पनि सटीक निशाना लगाउँदै भारतीय जोडीले चिनियाँ टोलीलाई पराजित गर्यो। हरविन्दर लक्ष्य ओलम्पिक पोडियम योजनासँग आबद्ध खेलाडी हुन्।
महिला रिकर्भ युगल स्पर्धामा भावना र पूजाले रजत पदक जिते। स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा भारतीय जोडी चीनसँग ०-६ ले पराजित भयो। चिनियाँ खेलाडीहरूले पहिलो सेट ३८-३१, दोस्रो सेट ३५-३० र तेस्रो सेट ३९-२९ ले जिते। चिनियाँ जोडीले प्रत्येक तीरमा औसतन ९.३३ अङ्क हासिल गर्दा भारतीय जोडीले ७.५० अङ्क प्राप्त गर्यो। यद्यपि फाइनलसम्म पुगेर भावना र पूजाले भारतका लागि पदक सुनिश्चित गरे।
ब्याडमिन्टनमा थुलासिमति मुरुगेसनले महिला एकल एसयू५ वर्गमा रजत पदक जितिन्। फाइनलमा उनी चीनकी चिउसिया याङसँग २१-१८, २१-११ ले पराजित भइन्। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी थुलासिमतिले उपाधि भिडन्तमा भने चिनियाँ खेलाडीसामु हार बेहोर्नुपर्यो।
थुलासिमतिको जन्म ११ अप्रेल, २००२ मा तमिलनाडुको काञ्चीपुरममा भएको थियो। उनले पाँच वर्षको उमेरदेखि खेल्न शुरु गरेकी थिइन् र पछि ब्याडमिन्टनलाई आफ्नो खेलका रूपमा अपनाइन्। बायाँ हातमा जन्मजात विकृति भएका कारण उनको बूढीऔँलाको विकास भएको थिएन। उनले हातको नसासम्बन्धी समस्या र मांसपेशीको कमजोरीको पनि सामना गर्नुपरेको छ। उनका पिता डी. मुरुगेसनले पाँच वर्षसम्म प्रशिक्षण दिएर उनलाई पारा खेलकुदतर्फ अघि बढ्न प्रेरित गरेका थिए। थुलासिमतिले विश्व च्याम्पियनसिप र फाजा दुबई पारा ब्याडमिन्टन अन्तरराष्ट्रिय प्रतियोगितामा पनि पदक जितिसकेकी छन्।
एथलेटिक्समा प्रमोदले पुरुष १५०० मिटर टी४६ स्पर्धामा रजत पदक जिते। उनले चार मिनेट ९.६५ सेकेन्डमा दूरी पूरा गरे। यसअघि सन् २०२२ मा चीनको हाङझाउमा आयोजित एसियाली पारा खेलकुदमा पनि उनले यही स्पर्धामा रजत पदक जितेका थिए। यससँगै उनले लगातार दोस्रोपटक यस स्पर्धामा रजत पदक हासिल गरेका छन्।
प्रतियोगिताको पाँचौँ दिन हरविन्दर सिंह र विजय सुन्डीको जोडीले स्वर्ण पदक जित्दा थुलासिमति मुरुगेसन, प्रमोद तथा भावना-पूजाको जोडीले रजत पदक जितेर भारतको पदक सङ्ख्यामा वृद्धि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल