
नयाँ दिल्ली, २५ अक्टोबर (हि.स.)। न्युजिल्यान्डविरुद्ध दोस्रो टी२० खेलमा भारतको जितपछि ब्याट्सम्यान तिलक वर्माले आफ्नो ब्याटिङ रणनीतिबारे खुलासा गरेका छन्। उनले सुस्त पिच, ठूलो मैदान र तीव्र गतिका बाउन्सरबीच छक्का प्रहार गर्न सजिलो नभएकाले ठूला सट खेल्नुको सट्टा संयम अपनाउँदै खेललाई अन्तिमसम्म पुर्याउने कुरामा ध्यान दिएको बताए। तिलकका अनुसार, उनले प्रशिक्षक गौतम गम्भीर र सितांशु कोटकसँग पारीलाई अन्तिमसम्म लैजाने वाचा गरेका थिए। उक्त वाचा पूरा गर्दै उनले नितीश कुमार रेड्डीसँग मिलेर एक बल बाँकी छँदै भारतलाई जित दिलाए।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मा साझा गरेको भिडियोमा तिलक वर्माले पिच निकै चुनौतीपूर्ण रहेको बताए। उनले भने, “मलाई लाग्छ, विकेट निकै चुनौतीपूर्ण थियो। विशेषगरी ठूलो मैदान, सुस्त पिच र उनीहरूले बाउन्सर फ्याँक्दा बल निकै तीव्र गतिमा आइरहेको थियो। यस्तो अवस्थामा चाहेको समयमा छक्का प्रहार गर्न सजिलो थिएन। पहिलो खेलमा छक्का हान्न सजिलो थियो, तर यस खेलमा परिस्थिति निकै कठिन थियो।”
उनले यस्तो अवस्थामा कसरी बुद्धिमानीपूर्वक खेल्ने भन्ने कुरा महत्त्वपूर्ण हुने बताए। तिलकका अनुसार, टोलीले आफ्नो शारीरिक तन्दुरुस्ती र मेहनत प्रदर्शन गर्न चाहेको थियो। उनीहरूले एक-एक र दुई-दुई रनका लागि कडा मेहनत गरे र अवसर पाउनेबित्तिकै छक्का पनि प्रहार गरे।
तिलक वर्माले नमन धीरले ब्याटिङ गरिरहेको समयमा आफूलाई पनि ठूला सट खेल्ने इच्छा भएको खुलासा गरे। तर, उनले भारतीय टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीर र ब्याटिङ प्रशिक्षक सितांशु कोटकसँग खेललाई अन्तिमसम्म लैजाने प्रयास गर्ने वाचा गरेका थिए।
तिलकले भने, “अघिल्लो खेलमा मेरो खेल्ने शैली केही रक्षात्मक थियो र म शुरुमै एक रन लिएर पारीलाई अगाडि बढाउन चाहन्थेँ। यस खेलमा पनि नमनले आक्रामक ब्याटिङ गरिरहेको बेला मैले संयम अपनाएँ। म स्पिनरविरुद्ध चौका-छक्का प्रहार गर्न चाहन्थेँ, तर धैर्य राख्दै खेललाई अन्तिमसम्म लैजाने निर्णय गरेँ। त्यसपछि जे भयो, त्यो भगवान्को योजना थियो।”
नितीश कुमार रेड्डीसँग खेल जिताउने साझेदारी गर्नुअघि तिलक वर्माले नमन धीरसँग पनि महत्त्वपूर्ण साझेदारी गरेका थिए। उक्त साझेदारीमा नमन धीरले १७ बलमा ३१ रन बनाएका थिए।
नितीश कुमार रेड्डीले पनि तिलक वर्माको खुलेर प्रशंसा गरे। उनले तिलक तीव्र गतिमा रन लिन सिपालु रहेको र दुवैबीच राम्रो तालमेल रहेको बताए। नितीशका अनुसार, नमन धीरले आक्रामक ब्याटिङ गरिरहेका बेला तिलकले अनावश्यक जोखिम लिनबाट जोगिँदै उनलाई स्ट्राइक दिने कुरामा ध्यान दिएका थिए।
नितीशले भने, “तिलकसँग ब्याटिङ गर्न मलाई निकै राम्रो लाग्यो। उनी छिटो दौडेर रन लिन्छन् र म पनि छिटो दौडन्छु। हामीले सँगै ब्याटिङ गर्दा निकै आनन्द लियौँ। म तिलकको एउटा कुराको विशेष प्रशंसा गर्न चाहन्छु। नमन धीर उत्कृष्ट ब्याटिङ गर्दै तीव्र गतिमा रन बनाइरहेका बेला तिलकले जोखिम लिएनन् र एक रन लिएर उनलाई स्ट्राइक दिए। त्यसपछि नमनले आफ्नो काम जारी राखे।”
उनले नमन आउट भएपछि आफू र तिलकले आक्रामक तथा सकारात्मक शैली अपनाएको बताए। दुवैले छिटो दुई रन लिने, चौका-छक्का प्रहार गर्ने र न्युजिल्यान्डका बलरमाथि दबाउ सिर्जना गर्ने रणनीति अपनाएका थिए। नितीशका अनुसार टी२० क्रिकेटमा कहिलेकाहीँ एउटा ओभरले नै खेलको दिशा बदल्न सक्छ र यस खेलमा भारतीय ब्याट्सम्यानहरूले त्यसलाई प्रमाणित गरेका छन्।
खेलमा न्युजिल्यान्डले भारतसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीलाई अन्तिम पाँच ओभरमा जितका लागि ६८ रन आवश्यक थियो। यस्तो अवस्थामा तिलक वर्मा (अविजित ५१ रन) र नितीश कुमार रेड्डी (अविजित २६ रन) ले उत्कृष्ट ब्याटिङ गर्दै खेलको दिशा भारतको पक्षमा मोडे।
यस जितसँगै भारतले पाँच खेलको टी२० अन्तरराष्ट्रिय शृङ्खलामा २-० को अग्रता बनाएको छ। शृङ्खलाको तेस्रो खेल २७ अक्टोबरमा न्युजिल्यान्डको वेलिङ्टनमा खेलिनेछ।
हिन्दुस्थान समाचार / बिशाल