
इटानगर, २६ अक्टोबर (हि.स.)। अरुणाचल प्रदेशको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’ को विरोध गर्दै पूर्वी सियाङ जिल्लाका युवाहरूले पासीघाटमा व्यापक हिंसा मच्चाएपछि केन्द्र सरकारले कानून-व्यवस्था नियन्त्रणमा लिन र्यापिड एक्सन फोर्स (आरएएफ) र केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) का दुई कम्पनी त्यहाँ तैनाथ गरेको छ।
प्राप्त विवरण अनुसार, आइतवार साँझदेखि नै आरएएफको तैनाथी शुरु भएको हो। भारतीय वायुसेनाको विमान मार्फत लगभग २५० जना आरएएफका जवान पासीघाट पुर्याइएका थिए।
स्रोतहरू अनुसार, केन्द्रिय गृह मन्त्रालयले शनिवार दिएको निर्देशपछि लगभग २५० जवान सम्मिलित आरएएफका दुई कम्पनीलाई नवी मुम्बईबाट भारतीय वायुसेनाको एउटा मालवाहक विमान मार्फत हवाई मार्गबाट त्यहाँ लगिएको थियो। ती टोलीहरू आइतवार नै पासीघाट पुगेका थिए। हाल उनीहरूलाई त्यहाँ तैनाथ गरिएको छ।
अरुणाचल प्रदेशको सियाङ क्षेत्रमा विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै र्यापिड एक्सन फोर्सलाई पासीघाट पठाइएको हो। ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’ लाई लिएर यस क्षेत्रमा तनावको अवस्था कायम रहेकाले आरएएफ तैनाथ गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी