
काठमाडौं, २६ अक्टोबर (हि.स.)। नेपालका प्रमुख राजमार्गहरू पूर्ण रूपमा सञ्चालनमा आएपछि प्रमुख धार्मिक स्थलहरूमध्ये एक मुक्तिनाथ मन्दिरमा भारतीय श्रद्धालुहरूको सङ्ख्यामा वृद्धि भएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्र मुक्तिनाथ मन्दिरमा पछिल्लो एक महिनादेखि श्रद्धालुहरूको सङ्ख्या निकै कम थियो। तर, अहिले यहाँ पर्यटक तथा तीर्थयात्रीहरूको भीड बढ्न थालेको छ।
मुस्ताङ जिल्ला पुलिस कार्यालयका अनुसार, राजमार्ग सुचारु भएपछि पछिल्लो एक सातादेखि दैनिक करिब १० देखि १२ हजार भारतीय श्रद्धालुले मुक्तिनाथ मन्दिरमा दर्शन गरेका छन्। जिल्ला पुलिस कार्यालयका पुलिस निरीक्षक तथा सूचना अधिकारी ईश्वर महतले नेपालमा आएको बाढी तथा पैह्रोपछि मुक्तिनाथ पुग्ने सडक मार्ग बन्द भएकाले श्रद्धालुहरूको सङ्ख्यामा निकै कमी आएको बताए। तर, पछिल्लो एक सातादेखि बिस्तारै श्रद्धालुहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भइरहेको उनले जानकारी दिए। आफ्नै सवारीसाधनमा पोखरा हुँदै मुक्तिनाथ पुग्ने श्रद्धालुहरूको सङ्ख्या बढेकाले अहिले दैनिक १० हजारभन्दा बढी श्रद्धालु दर्शनका लागि आउने गरेको उनले बताए।
अगस्त र सेप्टेम्बर महिनामा भएको भारी वर्षाका कारण आएको बाढी तथा पहिरोले बेनी-जोमसोम सडक क्षतिग्रस्त भएको थियो। यसका कारण उक्त सडक करिब एक महिनासम्म पूर्ण रूपमा बन्द रहेको थियो। प्रत्येक वर्ष पितृपक्ष (सोह्रश्राद्ध) का बेला हजारौँ श्रद्धालु मुस्ताङ पुग्ने गर्छन्। तर, यस वर्ष सडक सम्पर्क अवरुद्ध भएका कारण पर्यटक तथा तीर्थयात्रीहरू मुस्ताङ पुग्न सकेनन्।
मुक्तिनाथ मन्दिरमा श्रद्धालुहरूको सङ्ख्या बढेसँगै बेनी-जोमसोम सडक मार्ग आसपासका होटल तथा अन्य आवासीय सुविधाहरूमा पनि पर्यटकहरूको भीड बढ्न थालेको छ। त्यस्तै, मुस्ताङमा पर्यटकहरूको आगमन बढेसँगै स्थानीय कृषि उत्पादनहरूको मागमा समेत वृद्धि भएको छ।