
लखनउ, २६ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको सुलतानपुर जाने क्रममा लोकसभामा विपक्षी दलका नेता एवं कांग्रेस सांसद राहुल गान्धीको काफिलामा रहेका सवारीसाधन एकापसमा ठोक्किएको घटनाको छानबिन गर्न उत्तर प्रदेश पुलिसले विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेको छ। पुलिस महानिदेशक राजीव कृष्णको निर्देशमा गठित यस टोलीले दुर्घटनाका कारण, परिस्थिति तथा सुरक्षा र यातायात व्यवस्थामा सम्भावित त्रुटिहरूबारे विस्तृत छानबिन गर्नेछ।
राहुल गान्धी सोमवार सड़कमार्ग हुँदै सुलतानपुर स्थित सांसद–विधायक अदालत (एमपी–एमएलए कोर्ट) मा उपस्थित हुन गइरहेका थिए। यसै क्रममा पूर्वाञ्चल एक्सप्रेसवेमा राहुल गान्धीको काफिलामा रहेका सवारीसाधन एकापसमा ठोक्किएका थिए।
पुलिस मुख्यालयले सोमवार जारी गरेको आदेश अनुसार एसआईटीको नेतृत्व लखनउ क्षेत्रका पुलिस महानिरीक्षक किरण एसले गर्नेछन्। टोलीमा सुलतानपुरका अतिरिक्त पुलिस अधीक्षक बृज नारायण सिंह र यातायातका पुलिस नायब उपरीक्षक रामकृष्ण चतुर्वेदीलाई सदस्य बनाइएको छ। एसआईटीले दुर्घटनाको वास्तविक कारण र त्यससँग सम्बन्धित परिस्थितिहरूको अनुसन्धान गर्नेछ। यसका साथै राहुल गान्धीको भ्रमणका क्रममा सुरक्षा, एस्कर्ट तथा यातायात व्यवस्थापनको पनि समीक्षा गरिनेछ। घटनाको पछाड़ी कुनै लापरवाही वा सुरक्षा सम्बन्धी त्रुटि थियो कि थिएन भन्ने पत्ता लगाउने प्रयास गरिनेछ।
पुलिस मुख्यालयले एसआईटीलाई घटनाका सबै पक्षको समग्र अनुसन्धान गरी यथाशीघ्र विस्तृत प्रतिवेदन बुझाउन निर्देश दिएको छ। साथै, भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक सुझाव दिन पनि भनिएको छ। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै अनुसन्धान टोलीको प्रतिवेदनका आधारमा दुर्घटनासँग सम्बन्धित तथ्यहरू र व्यवस्थागत कमजोरीहरूको मूल्याङ्कन गरिनेछ।
/ बिशाल