

सुलतानपुर, २६ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको सुलतानपुर जिल्ला स्थित सांसद-विधायक अदालत (एमपी-एमएलए कोर्ट) ले तत्कालीन भाजपा अध्यक्ष एवं वर्तमान केन्द्रिय गृहमन्त्री अमित शाहमाथि कथित आपत्तिजनक टिप्पणी गरेको आरोपसँग सम्बन्धित मानहानि मुद्दामा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीलाई प्रमाणको अभावमा बरी गरेको छ। विशेष मजिस्ट्रेट शुभम वर्माको अदालतले सोमवार यो फैसला सुनाएको हो। फैसला सुनाउँदा राहुल गान्धी अदालतमा उपस्थित थिए।
यस मुद्दाको सुनुवाइ सांसद-विधायक मजिस्ट्रेट अदालतमा भइरहेको थियो। दुवै पक्षका तर्फबाट लामो बहसपछि गत १३ अक्टोबरमा सुनुवाइ पूरा भएको थियो। मुद्दामा राहुल गान्धीका अधिवक्ताले आफ्नो लिखित बहसमा विवादित बयान दिएको स्वीकार गरेका थिए। तर, उक्त बयान सद्भावपूर्वक दिइएको, कसैलाई अपमानित गर्ने उद्देश्य नरहेको तथा बयानलाई तोड़मोड़ गरेर प्रस्तुत गरिएको लगायतका तर्क उनले राखेका थिए।
त्यसैगरी, उजुरीकर्ता पक्षका अधिवक्ताले विवादित बयान दिएको स्वीकार गरिएको आधारमा राहुल गान्धीलाई दोषी ठहर गर्न अदालत समक्ष माग गरेका थिए। त्यसपछि अदालतले फैसलाका लागि २६ अक्टोबरको मिति तय गरेको थियो। सोमवार अदालतले फैसला सुनाउँदै राहुल गान्धीलाई ठूलो राहत प्रदान गर्दै दोषमुक्त गरेको छ।
राहुल गान्धीमाथि ८ मई २०१८ मा बेङ्गलुरुमा भाजपाका तत्कालीन राष्ट्रिय अध्यक्ष एवं वर्तमान केन्द्रिय गृहमन्त्री अमित शाह विरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको थियो। राहुल गान्धी विरुद्ध ४ अगस्त २०१८ मा कोतवाली देहात पुलिस थाना अन्तर्गत हनुमानगञ्ज निवासी जिल्ला सहकारी ब्यांकका पूर्व अध्यक्ष एवं भाजपा नेता विजय मिश्रले अदालतमा मानहानि सम्बन्धी उजुरी दर्ता गराएका थिए। २७ नोभेम्बर २०२३ मा अदालतले राहुल गान्धीलाई मुद्दाको सुनवाइका लागि उपस्थित हुन आदेश दिएको थियो।
यता, अदालतको फैसलापछि राहुल गान्धीका समर्थकहरूले खुशी व्यक्त गरेका छन्। कांग्रेस नेता दीपक सिंहले यसलाई सत्यको विजय भएको बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी