बङ्गाल: कुमारडीहा कोलियरीमा २०० फिट तल फसेका १२ श्रमिकको सकुशल उद्धार
घटना का पूरा विस्तृत फोटो


आसनसोल, २७ अक्टोबर (हि.स.)। इस्टर्न कोलफिल्ड्स लिमिटेड (ईसीएल) को कुमारडीहा-ए कोलियरीमा सोमबार साँझ ठूलो दुर्घटना हुनबाट जोगिएको छ। खानीभित्र डुलीको फलामे तार अड्किएपछि १२ जना श्रमिक करिब २०० फिट गहिराइमा फसेका थिए। करिब १२ घण्टासम्म चलेको उद्धार अभियानपछि मङ्गलबार बिहान करिब ५ बजी सबै श्रमिकलाई सकुशल बाहिर निकालिएको छ। श्रमिकहरू बाहिर निस्किएपछि उनीहरूका परिवारका सदस्य तथा स्थानीय बासिन्दाले राहतको सास फेरेका छन्।

प्राप्त जानकारीअनुसार, सोमबार साँझ करिब ५ः३० बजी कोलियरीको इन्जिन कक्षमा ड्रमनजिकै डुलीको फलामे तार अड्किएको थियो। त्यसका कारण डुली बीच बाटोमै रोकिएको थियो। त्यतिबेला डुलीमा ईसीएलका १२ जना कर्मचारी सवार थिए। श्रमिकहरूले माथि रहेका कर्मचारीहरूसँग आवाजमार्फत सम्पर्क कायम राखेका थिए। घटनाको खबर पाएपछि श्रमिकका परिवारका सदस्यहरू खानीको प्रवेशद्वारमा पुगेका थिए र उनीहरू रातभरि सुरक्षित उद्धारको प्रतीक्षामा बसेका थिए।

सूचना पाएपछि पाण्डवेश्वरका विधायक जितेन्द्र तिवारी घटनास्थलमा पुगेका थिए। उनी रातभरि त्यहीँ बसे। ईसीएलका वरिष्ठ अधिकारी, कोलियरीका अभिकर्ता मधुसूदन सिंह, प्रबन्धक, प्रशासनिक अधिकारी तथा पुलिसको उपस्थितिमा श्रमिकहरूलाई बाहिर निकाल्ने प्रयास गरियो।

शुरुमा डुलीको तार निकाल्ने प्रयास सफल हुन सकेन। त्यसपछि विशेषज्ञहरूको सहयोगमा ड्रम मर्मत गर्ने काम शुरु गरियो। लामो प्रयासपछि मङ्गलबार बिहान करिब ५ बजी एकपछि अर्को गर्दै सबै १२ जना श्रमिकलाई सुरक्षित बाहिर निकालियो।

सबै श्रमिकको अवस्था हाल सामान्य रहेको बताइएको छ। यद्यपि, लामो समयसम्म खानीभित्र फसेर बस्नुपरेकाले उनीहरूले शारीरिक तथा मानसिक कठिनाइ भोग्नुपरेको थियो। सावधानीका रूपमा सबै श्रमिकलाई स्वास्थ्य केन्द्रमा पठाएर स्वास्थ्य परीक्षण गराउने व्यवस्था गरिएको छ।

घटनापछि कोलियरीको सुरक्षा व्यवस्था र मेसिनहरूको मर्मतसम्भारलाई लिएर प्रश्न उठ्न थालेका छन्। सम्बन्धित ड्रमको केही महिनाअघि मात्र मर्मत गरिएको बताइएको छ। यस्तो अवस्थामा मर्मतपछि पनि ड्रममा कसरी खराबी आयो र मर्मतसम्भारमा कुनै लापरबाही भएको थियो कि थिएन भन्ने विषयमा जॉंच आवश्यक देखिएको छ।

विधायक जितेन्द्र तिवारीले घटनाको विस्तृत छानबिन गर्नुपर्नेमा जोड दिएका छन्। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन खानीका मेसिन तथा सुरक्षा प्रणालीको व्यापक सुरक्षा परीक्षण गर्नुपर्ने माग पनि उठेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande