चक्रवात ‘अर्नब’ पश्चिम-मध्य बङ्गालको खाडीमा अति भीषण चक्रवाती आँधीमा परिणत, आन्ध्र प्रदेश र ओडिशासहित विभिन्न राज्यमा सतर्कता, ६० भन्दा बढी रेल रद्द
सांकेतिक।


नयाँ दिल्ली, २७ अक्टोबर (हि.स.)। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले चक्रवात ‘अर्नब’ पश्चिम-मध्य बङ्गालको खाडीमाथि अति भीषण चक्रवाती आँधीमा परिणत भएको बताएको छ। यो हाल विशाखापत्तनमबाट करिब ३०० किलोमिटर टाढा रहेको छ। आँधी मङ्गलबार बिहान आन्ध्र प्रदेशको यानम नजिकैको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ। विपद् व्यवस्थापन विभागले आन्ध्र प्रदेशभर आज र भोलि भारी वर्षा हुने अनुमान गरेको छ। यस अवधिमा प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरको गतिमा हावा चल्ने सम्भावना पनि व्यक्त गरिएको छ।

आईएमडीका अनुसार, आँधी आज साँझसम्म पश्चिम-उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने सम्भावना छ। त्यसपछि अर्नब उत्तरपश्चिम दिशातर्फ मोडिने अनुमान गरिएको छ। यो आँधी भोलि बापटला र विशाखापत्तनमबीच यानम नजिकै आन्ध्र प्रदेश तथा यानमका तटीय क्षेत्र पार गर्न सक्नेछ। त्यस समयमा पनि आँधी अति भीषण श्रेणीमै रहने अनुमान छ।

चक्रवात तटीय क्षेत्रमा प्रवेश गर्दा निरन्तर हावाको अधिकतम गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरसम्म पुग्न सक्नेछ। तीव्र झोक्कासहित हावाको गति प्रतिघण्टा १४० किलोमिटरसम्म पुग्ने सम्भावना छ। विभागले आन्ध्र प्रदेश र त्यससँग जोडिएको दक्षिणी ओडिशाका तटीय क्षेत्रका लागि चक्रवातसम्बन्धी रातो सतर्कता जारी गरेको छ।

ओडिशा सरकारले आँधीको जोखिमलाई ध्यानमा राख्दै राज्यका छ जिल्लामा सतर्कता जारी गरेको छ। ती जिल्लामा गञ्जाम, गजपति, रायगडा, मलकानगिरि, कोरापुट र नबरङ्गपुर रहेका छन्। मुख्यमन्त्रीले तयारीको निगरानी गर्न आठ जना मन्त्रीलाई जिम्मेवारी दिएका छन्। जोखिमयुक्त क्षेत्रमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ), ओडिशा विपद् द्रुत कार्यबल, अग्निशमन विभाग र पुलिसका जवानहरू परिचालन गरिएको छ। सम्भावित आपत्कालीन अवस्थासँग जुध्न ओडिशाका जोखिमयुक्त जिल्लाहरूमा २२५ वटा अग्निशमन टोली तथा राष्ट्रिय विपद् प्रतिकार्य बलका टोलीहरू तैनाथ गरिएका छन्।

ओडिशा सरकारले छापा, विद्युतीय तथा डिजिटल सञ्चारमाध्यमका लागि विशेष निर्देशन जारी गरेको छ। सरकारले चक्रवातसम्बन्धी जानकारी भारतीय मौसम विज्ञान विभाग, विशेष राहत आयुक्त तथा अधिकृत जिल्ला प्रशासनबाट जारी आधिकारिक सूचनाका आधारमा मात्र प्रसारण गर्न स्पष्ट निर्देशन दिएको छ। अपुष्ट पूर्वानुमान, काल्पनिक मार्गसम्बन्धी नमुना वा त्रास फैलाउने समाचार प्रसारण नगर्न पनि आग्रह गरिएको छ।

चक्रवातको जोखिमलाई ध्यानमा राख्दै गञ्जाम जिल्ला प्रशासनले आजदेखि २९ अक्टोबरसम्म सबै आँगनवाडी केन्द्रमा बिदा घोषणा गरेको छ। बालबालिका तथा गर्भवती महिलाका लागि पोषण सामग्रीस्वरूप सुक्खा खाद्यान्न घरघरमा पुर्याउन निर्देशन दिइएको छ। तटीय मार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्न राज्य यातायात प्राधिकरणले आवश्यक निर्देशन जारी गरेको छ।

यस चक्रवातको प्रभाव तटीय राज्यहरूमा मात्र सीमित नरहने अनुमान गरिएको छ। मौसम विभागले पश्चिम बङ्गाल, बिहार, झारखण्ड र पूर्वी उत्तर प्रदेशलगायत विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना जनाएको छ। मध्य प्रदेश, छत्तीसगढ र तेलङ्गानाका केही क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने अनुमान छ। चक्रवात शक्तिशाली बनेपछि तमिलनाडु र पुडुचेरीका नौवटा बन्दरगाहमा समेत सतर्कता जारी गरिएको छ।

चक्रवातबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै रेल सेवामा पनि व्यापक परिवर्तन गरिएको छ। रेलवेले ४ नोभेम्बरसम्म ६० भन्दा बढी रेल रद्द गर्नुका साथै अन्य रेलहरूको सञ्चालनमा परिवर्तन गरेको छ। आज र भोलि गरी ५३ वटा रेल रद्द रहनेछन्।

रेलवेले सार्वजनिक गरेको सूचीअनुसार, राजमुन्द्रीदेखि विजयवाडासम्म चल्ने रेल सङ्ख्या ६७२६१ अक्टोबर २७ र २८ मा रद्द गरिएको छ। विजयवाडादेखि मछलीपट्टनमसम्म चल्ने रेल सङ्ख्या ६७२६३ र ६७२६५ पनि दुवै दिन सञ्चालन हुने छैनन्।

मछलीपट्टनमदेखि विजयवाडा जाने रेल सङ्ख्या ६७२६४ र ६७२५६ पनि अक्टोबर २७ र २८ मा रद्द गरिएका छन्। मछलीपट्टनम र गुडिवाडाबीच चल्ने रेल सङ्ख्या ६७२७१, ६७२७२, ६७२५२, ६७२५३, ६७२५४ र ६७२५५ पनि दुवै दिन सञ्चालन हुने छैनन्।

त्यसैगरी, काकिनाडा बन्दरगाहदेखि विशाखापत्तनम जाने रेल सङ्ख्या १७२६७ र विशाखापत्तनमदेखि काकिनाडा बन्दरगाह आउने रेल सङ्ख्या १७२६८ अक्टोबर २७ र २८ का लागि रद्द गरिएका छन्। पार्वतीपुरमदेखि विशाखापत्तनमबीच चल्ने रेल सङ्ख्या ०७२६७ तथा फर्कने रेल सङ्ख्या ०७२६८ पनि दुवै दिन सञ्चालन हुने छैनन्।

आज विजयवाडादेखि नरसापुर जाने रेल सङ्ख्या ६७२५८, १७२६९ र ६७२५७ चल्ने छैनन्। नरसापुरदेखि राजमुन्द्री जाने रेल सङ्ख्या ६७२४६, नरसापुरदेखि भीमावरम जङ्क्सन जाने रेल सङ्ख्या १७२६४ तथा विजयवाडादेखि काकिनाडा बन्दरगाह जाने रेल सङ्ख्या १७२५७ पनि रद्द गरिएका छन्।

यसका अतिरिक्त विजयवाडादेखि राजमुन्द्री जाने रेल सङ्ख्या ६७२०२, विजयवाडादेखि मछलीपट्टनम जाने रेल सङ्ख्या ६७२६७, नरसापुरदेखि गुंटुर जङ्क्सन जाने रेल सङ्ख्या ६७२४७ र नरसापुरदेखि विजयवाडा जाने रेल सङ्ख्या ६७२७६ पनि रद्द गरिएका छन्।

भोलि विजयवाडादेखि भीमावरम जङ्क्सन जाने रेल सङ्ख्या ६७२७५ र ६७२८१, भीमावरमदेखि निदादावोलु जङ्क्सन जाने रेल सङ्ख्या ६७२७७ र ६७२८३ तथा फर्कने रेल सङ्ख्या ६७२७८ र ६७२८४ सञ्चालन हुने छैनन्।

विजयवाडादेखि गुंटुर जङ्क्सन जाने रेल सङ्ख्या ६७२२९, गुंटुरदेखि रेपल्ले जाने रेल सङ्ख्या ६७२२३, रेपल्लेदेखि तेनाली जाने रेल सङ्ख्या ६७२२४ र तेनालीदेखि विजयवाडा जाने रेल सङ्ख्या ६७२२२ पनि रद्द गरिएका छन्। यसबाहेक नरसापुरदेखि विजयवाडा जाने रेल सङ्ख्या १७२७० र काकिनाडा बन्दरगाहदेखि विजयवाडा जाने रेल सङ्ख्या १७२५८ अक्टोबर २८ मा सञ्चालन हुने छैनन्।

चक्रवातलाई ध्यानमा राख्दै केही रेलको मार्गसमेत परिवर्तन गरिएको छ। भुवनेश्वरदेखि जगदलपुर जाने हीराखण्ड एक्सप्रेस (१८४४७) आजदेखि अक्टोबर ३० सम्म रायगढबाटै यात्रा समाप्त गर्नेछ। यसको फर्कने सेवा जगदलपुर–भुवनेश्वर हीराखण्ड एक्सप्रेस (१८४४८) अक्टोबर २८ देखि ३१ सम्म कोरापुटको सट्टा रायगढबाट सञ्चालन हुनेछ।

दक्षिण तटीय रेलवेले चौबीसै घण्टा सञ्चालन हुने नियन्त्रण कक्ष तथा रेल स्टेसनमा सहायता कक्ष स्थापना गरेको छ। त्यहाँ टिकटको रकम फिर्ता, खाना, वैकल्पिक विद्युत् आपूर्ति तथा चिकित्सकीय सहयोगको व्यवस्था गरिएको छ। रेलवेले क्षेत्रीय तथा मण्डलीय मुख्यालयमा पनि चौबीसै घण्टा सञ्चालन हुने आपत्कालीन नियन्त्रण कक्ष स्थापना गरेको छ।

रेलवेले यात्रुहरूलाई यात्रा शुरु गर्नुअघि आफ्नो रेलको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। यात्रुहरूलाई आधिकारिक रेलवे सूचना माध्यमबाट विवरण प्राप्त गरी सोहीअनुसार यात्राको योजना बनाउन सल्लाह दिइएको छ। रेल सेवा रद्द हुँदा यात्रुहरूलाई परेको असुविधाप्रति रेलवेले दुःखसमेत व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande