

गुवाहाटी (असम), २७ अक्टोबर (हि.स.)। गुवाहाटीको उलुबारीस्थित जीएस रोडको बोरा सर्भिस क्षेत्रमा रहेको होटल विलास इनमा सोमबार राति करिब ९ बजी भएको अन्धाधुन्ध गोलीबारीमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ। घटनामा गम्भीर घाइते भएका एक व्यक्तिको गुवाहाटी मेडिकल कलेज तथा अस्पताल (जीएमसीएच) मा उपचार भइरहेको छ। पल्टन बजार पुलिसले मृतक पाँचै जनाको शवको आज पोस्टमार्टम गरिने जनाएको छ। गुवाहाटी महानगर पुलिस आयुक्त डा. पार्थ सारथी महन्तले यसबारे जानकारी दिएका हुन्।
महानगर पुलिस आयुक्त डा. महन्तका अनुसार, प्रारम्भिक जानकारीमा हत्याको घटनामा होटल विलास इनलाई भाडामा लिएका घनकान्त गोगोईको संलग्नता देखिएको छ। आरोपीलाई पुलिसले पक्राउ गरिसकेको छ।
पुलिस आयुक्तले दिएको जानकारीअनुसार, गोलीबारीमा होटलकी मालिक हेलेना बी. भराली, उनका छोरा देवर्षि कश्यप, कश्यपकी पत्नी रिनिकी भराली, हेलेना भरालीका दाजु भूदेव भराली र होटलका कर्मचारी नारायणको मृत्यु भएको छ। घटनामा गम्भीर घाइते भएका सवारीचालक सत्येन पाठकको जीएमसीएचमा उपचार भइरहेको छ।
मृतकहरू एउटै परिवारका सदस्य रहेको बताइएको छ। हेलेनाको घरमा दुई जना साना बालबालिका छन्। हेलेनाको परिवार होटल विलास इनको माथिल्लो तलाको एउटै तलामा बस्दै आएको थियो।
प्राप्त जानकारीअनुसार, घनकान्त गोगोईले एक वर्षअघि हेलेना भरालीबाट होटल भाडामा लिएका थिए। होटल भाडामा लिने विषयलाई लिएर उनीहरूबीच विवाद चलिरहेको थियो। भाडा सम्झौताको अवधि समाप्त भएपछि सोमबार राति घनकान्त हेलेनासँग कुराकानी गर्न पुगेका थिए। सोही क्रममा उनले आफ्नो अनुमतिप्राप्त पेस्तोलबाट गोली चलाएको बताइएको छ।
घटनाको करिब एक घण्टाभित्रै पल्टन बजार पुलिसले हत्याका आरोपी घनकान्त गोगोईलाई पक्राउ गरेको छ। पुलिसले उनको ३२ बोरको अनुमतिप्राप्त पेस्तोलसमेत बरामद गरेको छ। हाल आरोपीसँग सोधपुछ भइरहेको छ।
यस घटनापछि प्रमुख विपक्षी दल कांग्रेसले राज्यको कानुन-व्यवस्थालाई लिएर गम्भीर प्रश्न उठाउँदै मुख्यमन्त्रीको आलोचना गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी