
अम्मान (जोर्डन), २७ अक्टोबर (हि.स.)। जोर्डनका सशस्त्र बलले शुक्रबार देशको करक प्रान्तस्थित एउटा चर्चमा भएको गोलीकाण्डको जवाफमा दक्षिणपूर्वी सिरियामा सशस्त्र समूहका शिविरहरूलाई निशाना बनाएको बताएका छन्। उक्त गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दर्जनौँ अन्य घाइते भएको बताइएको छ। जोर्डनको सेनाले सिरियामा गरिएका यी आक्रमणहरू “सिरियाली सरकारसँग समन्वय गरेर” सञ्चालन गरिएको जनाएको छ।
अल जजिराको समाचारअनुसार, सेनाले यी आक्रमणमा आतङ्कवादी समूहका कैयौँ सदस्य मारिएको वा घाइते भएको तथा उनीहरूका धेरै सवारीसाधन नष्ट भएको बताएको छ। यद्यपि, सिरियाले जोर्डनसँग कुनै पनि प्रकारको समन्वय भएको कुरा अस्वीकार गरेको छ। सिरियाली सरकारले एक विज्ञप्तिमा भनेको छ, “यो सैन्य अभियान कुनै पूर्वसमन्वय वा जानकारीबिना सञ्चालन गरियो।” यस विषयमा सिरियाली सरकारले जॉंच शुरु गरेको छ।
सिरियाको नागरिक सुरक्षा सेवाले सोमबार साँझ दारा र सुवैदा प्रान्तका ग्रामीण क्षेत्रमा कम्तीमा चार स्थानमा आक्रमण भएको जनाएको छ। उक्त सेवाको टोलीले तीन पुरुष, एक महिला र तीन बालबालिकासहित सात जनाको शव फेला पारेको छ।
नागरिक सुरक्षा सेवाका अनुसार, मारिनेहरूमध्ये पाँच जना एउटै परिवारका सदस्य हुन्। उनीहरू दारा प्रान्तको अल-ताई गाउँमा एउटा पालमाथि भएको आक्रमणमा मारिएका थिए। परिवारका अन्य तीन सदस्य, एक बालकसहित, घाइते भएका छन्।
दोस्रो आक्रमण दारा प्रान्तकै अल-शैयाह क्षेत्रमा भएको थियो, जहाँ ८० वर्षीय एक वृद्धको मृत्यु भएको छ। तेस्रो आक्रमण दाराको ऐन अल-बसल क्षेत्रमा पर्ने मुजैरिबस्थित एउटा आवासीय भवनमा भएको थियो। उक्त आक्रमणमा भने कुनै मानवीय क्षति भएको छैन।
हिन्दुस्थान समाचार / बिशाल