मङ्गनमा ‘खेत बचाउ अभियान- रबी सिजन २०२६’ शुरु
मङ्गनमा ‘खेत बचाउ अभियान- रबी सिजन २०२६’ शुरु


मङ्गन, २७ अक्टोबर (हि.स.)। खेतीयोग्य जमिनको संरक्षण तथा उत्पादनमूलक उपयोगलाई प्रोत्साहन गर्ने र किसानहरूलाई दिगो कृषि अभ्यासबारे सचेत गराउने उद्देश्यले मङ्गन जिल्लाको कृषि विभागले ‘खेत बचाउ अभियान- रबी सिजन २०२६’ शुरु गरेको छ।

मङ्गनका संयुक्त निर्देशक डीटी भोटियाको मार्गदर्शन तथा निगरानीमा २६ अक्टोबर, २०२६ देखि शुरु भएको यो अभियानअन्तर्गत रिङहिम नामपतम ग्राम पञ्चायत एकाइमा पहिलो कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा रिङहिम नामपतमका पञ्चायत अध्यक्ष शेराप भोटिया तथा पञ्चायतका सदस्यहरूको उपस्थिति रहेको थियो। साथै, कृषि विज्ञान केन्द्रका प्रमुख तथा वरिष्ठ वैज्ञानिक दिनेश बस्नेत, कृषि विभागका उपनिर्देशक प्रणित गुरुङ, विषयविज्ञ पाल्देन भोटिया, मङ्गनकी कृषि विकास अधिकारी छिमी याङजोम लेप्चा, कृषि निरीक्षक तथा विभागका अन्य कर्मचारीहरू सहभागी थिए।

कार्यक्रममा स्थानीय शासन निकाय, वैज्ञानिक संस्थान, किसान तथा कृषि विभागबीच समन्वय र सहकार्यको महत्त्वलाई उजागर गरिएको थियो।

भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालयद्वारा शुरु गरिएको राष्ट्रव्यापी यस अभियानले कृषि भूमिको क्षयीकरण तथा अनुपयोगलाई रोक्ने, जमिनको व्यवस्थापनमा सुधार ल्याउने र दिगो खेती प्रणालीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमका क्रममा खेतीयोग्य जमिनको संरक्षणले किसानहरूको जीविकोपार्जन सुरक्षित गर्न, खाद्य सुरक्षालाई सुदृढ बनाउन तथा मङ्गन जिल्लामा दिगो र आपदा प्रतिरोधी कृषि विकास सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिइयो।

कृषि विभाग, मङ्गन जिल्लाका अनुसार यस अभियानले खेतीयोग्य जमिनको उचित उपयोग र संरक्षणबारे किसानहरूमा सचेतना बढाउँदै कृषि उत्पादन तथा दिगो खेती प्रणालीको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande