
नाम्ची, २७ अक्टोबर (हि.स.)। भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयअन्तर्गत माई भारत केन्द्र (एमबीके), नाम्चीले आज नाम्चीको कामराङस्थित सरकारी महाविद्यालयको सभागारमा ‘विकसित भारत युवा संवाद-आफ्नो मताधिकार चिनौँ’ कार्यक्रम आयोजना गर्यो।
युवाहरूलाई मतदानको अधिकारबारे सचेत गराउने, मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) सम्बन्धमा जानकारी प्रदान गर्ने तथा देशको लोकतान्त्रिक र निर्वाचन प्रक्रियामा सक्रिय सहभागिताका लागि प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै माई भारत केन्द्र, नाम्चीका जिल्ला युवा अधिकारी नवनीत कुमारले राष्ट्रको विकास र प्रगतिमा युवाहरूको सहभागिताको महत्त्वमाथि प्रकाश पारे। उनले युवा नागरिकहरूले आफ्नो मतदानको अधिकार बुझ्नुपर्ने र त्यसको जिम्मेवार ढङ्गले प्रयोग गर्नुपर्ने आवश्यकतामाथि जोड दिए। साथै, विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति स्पष्ट दृष्टिकोण राख्न, राज्यको विकासमा सक्रिय योगदान दिन तथा भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गरे।
उनले निर्वाचन प्रक्रियामा प्रयोग हुने फाराम ६, ७ र ८ को महत्त्वबारे पनि जानकारी गराए। यी फारामको प्रयोग क्रमशः मतदाता नामावलीमा नाम समावेश गर्न, नाम हटाउन तथा विवरण सच्याउन वा अद्यावधिक गर्न गरिने विषय उनले स्पष्ट पारे। यसका साथै उनले विद्यार्थीसँग अन्तरक्रिया गर्दै मतदाता दर्ता र यससँग सम्बन्धित प्रक्रियाबारे उनीहरूका जिज्ञासाको समाधान गरे।
कार्यक्रममा युवा आइकन प्रज्ञान दीप गुरुङले विद्यार्थीहरूलाई सम्बोधन गर्दै सकारात्मक सामाजिक परिवर्तनका लागि सामूहिक प्रयासको महत्त्वमाथि जोड दिए। उनले विशेषगरी सामाजिक सञ्जालमा फैलिने गलत सूचना तथा भ्रामक प्रचारप्रति सचेत रहन विद्यार्थीहरूलाई आग्रह गरे। कुनै पनि जानकारी स्वीकार गर्न वा अरूसँग साझा गर्नुअघि त्यसको सत्यता पुष्टि गर्नुपर्ने उनले बताए। साथै, निर्वाचन प्रक्रियाको विश्वसनीयता कायम राख्न मतदाता नामावली सही र अद्यावधिक हुनु आवश्यक रहेको उल्लेख गरे।
यसैगरी, युवा आइकन अमन अग्रवालको सहजीकरणमा ‘युवा संवाद’ शीर्षकको अन्तरक्रियात्मक सत्र पनि आयोजना गरियो। यस सत्रमा विद्यार्थीहरूले निर्वाचनसम्बन्धी सचेतना र युवाहरूको सहभागिताबारे खुला छलफल गर्दै आफ्ना विचार प्रस्तुत गर्ने अवसर पाए।
कार्यक्रमका क्रममा युवा आइकन तथा खेलाडी आशित राईलाई सम्मान पनि गरियो। उनको अनुपस्थितिमा प्रकाश छेत्रीले सम्मान ग्रहण गरे।
कार्यक्रममा कमराङ सरकारी महाविद्यालयका उपप्राचार्य डा. सञ्जय कुमार सुब्बा, विद्यार्थी कल्याण विभागका अधिष्ठाता डा. युगल किशोर खनाल तथा महाविद्यालयका विद्यार्थीहरू उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / बिशाल