
खरसाङ, २७ अक्टोबर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत तीनधारेको नयाँ कमानमा नयाँ कमान भेटरन क्लबको आयोजनामा जारी नगराशि फुटबल टुर्नामेन्ट अन्तर्गत मंगलवार सम्पन्न प्री क्वार्टरफाइनलमा नर्थ बङ्गाल फुटबल क्लब र बाघडोगरा एफसी बिजय भएका छन्।
मंगलवार पहिलो प्री क्वार्टर खेल नर्थ बङ्गाल फुटबल क्लब र शिमलबारी एफसीमाझ सम्पन्न भयो। यस खेलमा नर्थ बङ्गाल फुटबल क्लबको तर्फबाट समीर र देवजीतले एक-एक गोल गरे भने प्रतिद्वन्दी दललाई 2-0 को अन्तरले पराजित गर्यो।विजयी दलका खेलाडी देवजीतलाई म्यान अफ् द म्याच चयन गरियो।
त्यसरी नै दोस्रो खेल बाघडोगरा एफसी र सुनिल छेत्री एफसीमाझ सम्पन्न भएको थियो। यस खेलमा बाघडोगरा एफसी 1-0 गोलको अन्तरले विजयी बन्यो। बाघडोगरा एफसीको तर्फबाट एक मात्र गोल निखिल विश्वले गरे। यस खेलमा पराजित दल सुनिल छेत्री एफसीका गोल किपर रिञ्छेन तामाङलाई म्यान अफ् द म्याच चयन गरियो।
यस खेलका अवसरमा रोहिणी एथलेटिक्स एसोसिएसनका पदाधिकारीहरु तथा स्थानीय अम्बर लामा, डम्बर प्रधान, मनिष राजपुत, जितेन तामाङ, रुद्रबहादुर प्रधान लगायत अन्यहरु अतिथिका रूपमा उपस्थित रहेका थिए। अब आगामी 29 अक्टोबरमा अन्तिम प्री क्वार्टर फाइनल खेल दार्जिलिङ युनाइटेड र मेनलाइन लङ्भ्यूमाझ तथा अनि अर्को खेल मकैबारी एफसी र एमएम तराईमाझ हुने आयोजकको तर्फबाट धिरेन प्रधानले जानकारी गराएका छन्।
उनले बताए अनुसार, यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 11 नोभेम्बरमा हुनेछ। फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफिसहित एक लाख तथा उप विजेतालाई ट्रफिसहित पचास हजार नगदराशि पनि प्रदान गरिने छ।
हिन्दुस्थान समाचार / हनोक