
सोनादा, २७ अक्टोबर (हि.स.)। पश्चिम बंगाल सरकार एवं जोरबङ्गलो पुलिस थानाको तत्वावधानमा मंगलबार जोरबङ्गलो थाना अन्तर्गत पूजा कमिटीहरुलाई लिएर दुर्गा पूजा विजया सम्मेलन 2026 आयोजना गरिएको छ। उक्त कार्यक्रम घुमस्थित एक रिसर्टमा सम्पन्न भयो।
यस अवसरमा पूजा कमिटीहरूसँग पूजा कार्यक्रमको समीक्षा गरियो। सम्मेलनमा दार्जिलिङ जिल्ला पुलिस अधीक्षक आईपीएस वाई श्रीकान्त जगनाथ राव, सुखे खण्ड विकास अधिकारी अर्घ्या गुहा, सभासद राजेस चौहान, डीएसपी डीआईबी, दार्जिलिङका सीआई, जोरबङ्गलो, सोनादा पुलिसको प्रभारी, एसबीआई शाखा प्रबन्धक, चिया बगानका म्यानेजर, अवकाशप्राप्त प्रधानाध्यापक, अवकाशप्राप्त पुलिस अधिकारीहरु, बीएमओएच, भारतीय जनता पार्टीका पदाधिकारीहरु साथै पूजा कमिटीका प्रतिनिधिहरू उपस्थित रहेका थिए।
दार्जिलिङ जिल्ला पुलिस अधीक्षक आईपीएस वाई श्रीकान्त जगनाथ रावले पुलिसहरु पनि समाजकै एक अंग रहेको र यस उत्सवको समयमा पुलिस प्रशासनले शान्ति बनाइराख्न धेरै खटेको बताए। उनले यो कार्यक्रम जोरबङ्गलो पुलिस थानाको आयोजनामा सम्पन्न भएको तथा यसमा पुलिस र स्थानीयहरुसित मिलेर समीक्षा गरिएको बताए। उनले पुलिस पनि मानिस नै रहेकाले भूल हुनसक्छ भन्दै भूलहरूबाट शिक्षा लिएर आगामी दिनहरूमा कम गर्न सकिने लगायतका विषयहरू चर्चा परिचर्चा गरिएको बताए।
हिन्दुस्थान समाचार / हनोक