
थेनी (तमिलनाडु), २७ अक्टोबर (हि.स.)। तमिलनाडुको थेनी जिल्लास्थित एउटा उपकारागारबाट सोमबार राति अबेर कर्मचारीहरूमाथि कथित रूपमा आक्रमण गरी १७ जना कैदी फरार भएका छन्। फरार कैदीहरूको खोजीका लागि छिमेकी जिल्लाहरूमा अभियान तीव्र पारिएको छ। पुलिसले एक जना कैदीलाई पक्राउ गरेको छ भने बाँकी १६ जनाको खोजी गर्न १७ वटा विशेष टोली गठन गरिएको छ।
दक्षिण क्षेत्रका पुलिस महानिरीक्षक विजयन्द्र बिदरीले पक्राउ परेका कैदी मदुरै निवासी रहेको जानकारी दिएका छन्। उनलाई थेक्कमपट्टी उपकारागार पछाडिको जङ्गली क्षेत्रमा सञ्चालन गरिएको खोजी अभियानका क्रममा पक्राउ गरिएको हो। बिदरीले भने, 'खोजी अभियानका क्रममा पुलिसले फरार कैदीहरूमध्ये एक जनालाई पक्राउ गरेको छ।”
पुलिसका अनुसार, सबै १७ जना कैदीलाई एउटै ब्यारेकमा राखिएको थियो। एक जना कैदीको स्वास्थ्य बिग्रिएको सूचना पाएपछि कारागारका कर्मचारीहरू ब्यारेकमा पुगेका थिए। त्यसपछि कैदीहरूले कथित रूपमा कर्मचारीहरूमाथि आक्रमण गरी त्यहाँबाट फरार भए।' बिदरीका अनुसार, कैदीहरूले आफ्नो योजनाअनुसार “मिर्गीको दौरा परेको नाटक” गरेका थिए।
उक्त घटनामा थेनी जिल्ला कारागारमा कार्यरत दोस्रो श्रेणीका पुलिस कर्मचारी थंगापाण्डीको टाउकोमा चोट लागेको छ। उनलाई जी विलक्कुस्थित सरकारी अस्पतालमा भर्ना गरिएको छ। पुलिसले कारागारका अन्य दुई कर्मचारीलाई पनि सामान्य चोट लागेको जनाएको छ।
डिन्डिगुलका पुलिस अधीक्षक एस. जयकुमारले सतर्कताका रूपमा जिल्लाका १६ स्थानमा जाँच चौकी स्थापना गरिएको जानकारी दिएका छन्। डिन्डिगुल-थेनी राजमार्गमा समेत सवारीसाधन जाँच भइरहेको छ।
मदुरै, डिन्डिगुल र इडुक्की जिल्लाका पुलिसलाई सतर्क गराइएको छ। फरार कैदीहरूको पहिचान गर्न सहयोग पुग्ने उद्देश्यले उनीहरूका तस्बिर सम्बन्धित अधिकारीहरूबीच प्रसारित गरिएको छ। यस घटनासम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।
यस घटनालाई लिएर डीएमकेका सांसद पी. विल्सनले पनि राजनीतिक प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै घटनालाई “लज्जास्पद” बताएका छन् र राज्यमा कानुन-व्यवस्था कायम राख्ने सरकारको कार्यशैलीको आलोचना गरेका छन्। विल्सनले सी. जोसेफ विजयसँग राजीनामाको माग गर्दै तमिलनाडुमा कथित रूपमा खस्किँदै गएको कानुन-व्यवस्थाको नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी