
मिर्जापुर, २७ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको मिर्जापुर जिल्ला स्थित कटरा कोतवाली पुलिसले मङ्गलवार नटवाँ कब्रिस्तान मार्गबाट १५२ ग्राम हेरोइन सहित एक महिला सहित तीन जनालाई पक्राउ गरेको छ। जफत हेरोइनको अन्तरराष्ट्रिय बजारमा अनुमानित मूल्य ३० लाख रुपियाँ रहेको बताइएको छ। पुलिसले आरोपीहरूबाट तीन वटा दुई चक्के सवारीसाधन, विद्युतीय तराजु र ७८ वटा खाली प्लास्टिकका पोका समेत जफत गरेको छ।
अपर पुलिस अधीक्षक (नगर) र नगर क्षेत्राधिकारीको नेतृत्वमा पुलिस टोलीले उक्त क्षेत्रमा शङ्कास्पद व्यक्ति तथा सवारीसाधनको जाँच गरिरहेको थियो। सोही क्रममा नटवीर चोकबाट नटवाँ कब्रिस्तानतर्फ जाने मार्गमा तीनै जना आरोपीलाई पक्राउ गरिएको हो। पक्रा पर्नेहरूमा देवरी आमघाट निवासी सौरभ मिश्रा उर्फ पुष्कर, बर्जी मुकुन्दपुर निवासी सैफ अली र लोहन्दी रोड निवासी पूजा तिवारी रहेका छन्।
पुलिस अनुसार, सोधपुछका क्रममा आरोपीहरूले हेरोइनलाई स-साना पोकामा प्याक गरेर स्कुटी तथा मोटरसाइकलमा विभिन्न स्थानमा घुम्दै बिक्री गर्ने गरेको बताएका छन्।पुलिसले तीनै जना विरुद्ध कटरा कोतवालीमा एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरेको छ। तस्करीमा प्रयोग गरिएका स्कुटी र मोटरसाइकललाई मोटर वाहन ऐनको धारा २०७ अन्तर्गत जफत गरिएको छ।
/ बिशाल