
कोलकाता, २७ अक्टोबर (हि.स.)। पश्चिम बङ्गालको उत्तर २४ परगना जिल्लाको गायघाटामा मङ्गलबार बिहान १७ वर्षीया किशोरीको बलात्कार र हत्याका मुख्य आरोपी पुलिस भिडन्तमा मारिएका छन्। यस घटनाले यसै वर्ष जुलाईमा दक्षिण २४ परगना जिल्लाको बारुईपुरमा भएको पुलिस भिडन्तको सम्झना ताजा गराएको छ। दुवै घटनामा पुलिसको कारबाहीको क्रम मिल्दोजुल्दो रहेको छ, जसमा राति 'क्राइम सीन रीक्रिएशन' प्रक्रिया (अपराध स्थलको नाट्य रूपान्तरण) पनि समावेश छ।
पुलिस स्रोतका अनुसार, आरोपी प्रह्लाद दासलाई मङ्गलबार बिहान घटनाको पुनर्निर्माण गर्न घटनास्थलमा लगिएको थियो। उक्त स्थान बङ्गलादेशको सीमाबाट करिब चार किलोमिटर टाढा रहेको छ। पुलिसको दाबीअनुसार, त्यस क्रममा प्रह्लादले अचानक एक पुलिस अधिकारीको सर्विस रिभल्भर खोसेर गोली चलाउन थाले। उनले तीन राउन्ड गोली चलाउँदा एक पुलिस कर्मचारी घाइते भए। त्यसपछि आत्मरक्षाका लागि पुलिसले पनि जवाफी कारबाही गर्दै चार राउन्ड गोली चलायो।
गोली लागेर गम्भीर घाइते भएका प्रह्लादलाई तत्काल चाँदपाडा ग्रामीण अस्पताल लगिएको थियो, जहाँ ड्युटीमा रहेका चिकित्सकहरूले उनलाई मृत घोषित गरे।
प्रह्लाद पीडित किशोरीको परिवारका नातेदार रहेको बताइएको छ। आइतबार एक छिमेकीको घरपछाडिबाट किशोरीको निर्वस्त्र तथा क्षतविक्षत शव फेला परेपछि उनलाई पक्राउ गरिएको थियो। ती किशोरी शनिबार राति परिवार र साथीहरूसँग सांस्कृतिक कार्यक्रम हेर्न गएकी थिइन्। परिवारका सदस्यहरूका अनुसार, राति करिब ११ः३० बजी उनलाई एउटा फोन आएको थियो। त्यसपछि उनी कार्यक्रमस्थलबाट बाहिर निस्किएकी थिइन् र बेपत्ता भएकी थिइन्। रातभरि सघन खोजी अभियान चलाएपछि आइतबार बिहान उनको शव फेला परेको थियो।
गायघाटामा भएको यस मुठभेडले साढे तीन महिनाअघि बारुईपुरमा भएको यस्तै घटनाको सम्झना गराएको छ। त्यहाँ पनि नाबालिगमाथि सामूहिक बलात्कार र हत्याका मुख्य आरोपी प्रभास मण्डल पुलिसको गोली लागेर मारिएका थिए। जुलाईमा भएको उक्त घटनामा पनि पुलिासले राति अपराधस्थलमा घटनाको पुनर्निर्माण गर्ने क्रममा आरोपीले पुलिसको हतियार खोसेर भाग्ने प्रयास गरेको र त्यसपछि आत्मरक्षाका लागि चलाइएको जवाफी गोलीबाट उनको मृत्यु भएको दाबी गरेको थियो।
बारुईपुरको उक्त भिडन्तलाई लिएर व्यापक विवाद भएको थियो। कलकत्ता उच्च न्यायालयले घटनाप्रति कडा रुख अपनाउँदै पुलिससँग विस्तृत प्रतिवेदन माग गरेको थियो। साथै, अदालतले घटनासँग सम्बन्धित सीसीटीभी दृश्य सुरक्षित राख्न पनि निर्देशन दिएको थियो। उक्त मुद्दा अझै अदालतमा विचाराधीन छ।
हिन्दुस्थान समाचार / भवानी थामी