पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु


गान्तोक, २७ अक्टोबर (हि.स.)। सोरेङ जिल्लाको ओखरेमा सिक्किम इन्स्पायर्स परियोजनाअन्तर्गत आतिथ्यका आधारभूत पक्ष तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने तालिम शुरु भएको छ। प्रशिक्षणको पहिलो दिन होमस्टे सञ्चालक, पर्यटन उद्यमी बन्न इच्छुक व्यक्ति तथा स्थानीय पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालासहित ४० जनाको सहभागिता रहेको थियो।

प्रशिक्षणको आयोजना होमस्टे तथा समुदायमा आधारित अन्य पर्यटन प्रतिष्ठानमा आगन्तुकहरूलाई प्रदान गरिने सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले गरिएको बताइएको छ।यसअन्तर्गत सहभागीहरूलाई आतिथ्य सत्कारका आधारभूत सिद्धान्त, पाहुनासँग प्रभावकारी सञ्चार तथा व्यावसायिक सेवा प्रवाहबारे जानकारी र सीप प्रदान गरिनेछ।

कार्यक्रममा ओखरेका पञ्चायत अध्यक्ष लाक्पा शेर्पा, उपाध्यक्ष टाशी डोमा शेर्पा, पूर्व अध्यक्ष निम छिरिङ लेप्चा लगायत पर्यटन तथा नागरिक उड्डयन विभागका अधिकारीहरू उपस्थित थिए।

सोरेङ जिल्ला पर्यटन कार्यालयका पर्यटन अधिकारी नितेन कौशिकले स्वागत मन्तव्य व्यक्त गर्दै सहभागीहरूलाई स्वागत गरे। उनले सिक्किम इन्स्पायर्स परियोजनाको संक्षिप्त परिचय दिँदै पर्यटन क्षेत्रलाई सुदृढ बनाउन तथा स्थानीय पर्यटन व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्न परियोजनाले खेल्ने भूमिकाबारे प्रकाश पारे।

कार्यक्रममा प्राविधिक सहयोग निकायका कुङ्गा वाङ्ग्यालले ओखरेमा यस प्रकारको प्रशिक्षण आयोजना गर्नुको उद्देश्य र महत्त्वबारे जानकारी गराए। उनले क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमले आतिथ्य सत्कारको अभ्यासमा सुधार ल्याउन, होमस्टे व्यवसायलाई सुदृढ बनाउन तथा पर्यटन सेवाको गुणस्तर बढाउन सहयोग पुर्‍याउने बताए।

आईएचएम गान्तोक स्रोतव्यक्ति रुबेश गुरुङले पाँचदिने प्रशिक्षणका उद्देश्य तथा संरचनाबारे सहभागीहरूलाई जानकारी दिए। उनले आतिथ्य सत्कारका आधारभूत सिद्धान्त, पाहुनाका अपेक्षा, प्रभावकारी सञ्चार, पाहुनासँग व्यवहार गर्ने तरिका तथा व्यावसायिक आचरणलगायत विषयमा तालिम सञ्चालन गरिने बताए।

प्रशिक्षणको एक महत्त्वपूर्ण अङ्गका रूपमा सफलतापूर्वक सञ्चालन भइरहेको होमस्टेको स्थलगत अवलोकन भ्रमणसमेत समावेश गरिएको बताइएको छ। यस भ्रमणमार्फत सहभागीहरूले वास्तविक परिस्थितिमा आतिथ्य सत्कारका अभ्यास कसरी लागू गरिन्छ भन्ने कुरा प्रत्यक्ष रूपमा अवलोकन गर्न पाउनेछन्। कक्षागत सिकाइलाई व्यावहारिक अनुभवसँग जोड्नु तथा सफल उदाहरणबाट ज्ञान हासिल गर्न सहयोग गर्नु भ्रमणको उद्देश्य रहेको छ।

ओखरे ग्राम पञ्चायत एकाइका अध्यक्ष लाक्पा शेर्पाले स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्ने यस्ता पहलको प्रशंसा गरे। उनले प्रशिक्षणले होमस्टे सञ्चालक तथा पर्यटन व्यवसायमा संलग्न हुन इच्छुक व्यक्तिहरूलाई आफ्नो सेवा सुधार गर्न र क्षेत्रको पर्यटन विकासमा योगदान पुर्‍याउन मद्दत गर्ने बताए।

उनले सहभागीहरूलाई तालिमको अवसरको पूर्ण सदुपयोग गर्न, सबै सत्रमा सक्रिय सहभागिता जनाउन तथा सिकेका ज्ञान र कौशाललाई आआफ्नो होमस्टे एवं पर्यटनसम्बन्धी गतिविधिमा प्रयोग गर्न आग्रह गरे। ओखरेको पर्यटन सम्भावनालाई साकार पार्न स्थानीय समुदाय, निर्वाचित जनप्रतिनिधि तथा पर्यटन क्षेत्रका सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा पनि उनले जोड दिए।

उद्घाटन तथा परिचयात्मक सत्रपछि स्रोतव्यक्ति रुबेश गुरुङको मार्गदर्शनमा प्राविधिक प्रशिक्षण शुरु भयो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande