
गान्तोक, 28 अक्टोबर (हि.स.)। जर्नलिस्ट युनियन अफ सिक्किमले वरिष्ठ पत्रकार विजय बान्तवाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। लामो समयदेखि क्यान्सर रोगसँग सङ्घर्ष गरिरहेका बान्तवाको आज बिहान आफ्नै निवासमा निधन भएको हो।
बुधबार जारी शोक वक्तव्यमा युनियनले उनको निधनले सिक्किमेली पत्रकारिता जगतमा अपूरणीय क्षति पुगेको जनाएको छ। सिक्किममा पत्रकारिताको विकास र प्रगतिमा उधले पुर्याएको महत्त्वपूर्ण योगदान सधैँ स्मरणीय रहने पनि वक्तव्यमा उल्लेख गरिएको छ।
दिवङ्गत पत्रकार बान्तवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै युनियनले शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना प्रकट गरेको छ। उनले पत्रकारिताको क्षेत्रमा छाडेका पदचिह्न इतिहासमा सधैँ जीवित रहने र उनका असल कार्यबाट नयाँ पुस्ताका पत्रकारहरू निरन्तर प्रेरित भइरहने युनियनले विश्वाससमेत व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल