
नयाँ दिल्ली, २८ अक्टोबर (हि.स.)। विपक्षी इन्डी गठबन्धनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार विरुद्ध ३० अक्टोबरमा सार्वजनिक महाभियोग कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ।
कांग्रेस महासचिव जयराम रमेशले बुधवार सामाजिक सञ्जाल प्लेटफर्म एक्स मार्फत जानकारी दिँदै अन्य स्थानमा अनुमति नपाएपछि शुक्रवार दिउँसो ३:३० बजी नयाँ दिल्लीको १० राजाजी मार्गमा उक्त कार्यक्रम आयोजना गरिने बताएका छन्।
जयराम रमेशले मुख्य निर्वाचन आयुक्तमाथि संविधानको भावना र त्यसका प्रावधानहरूको उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनले ज्ञानेश कुमारले योजनाबद्ध तरिकाले निर्वाचन लोकतान्त्रिक व्यवस्थाको जग कमजोर बनाएको आरोप समेत लगाए।
यसअघि कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे पार्टीका सबै सम्बन्धित सदस्यहरूलाई पत्र लेखेर उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरेका थिए। कांग्रेसले शुरुमा यस कार्यक्रमलाई व्यापक स्तरमा आयोजना गर्ने योजना बनाएको थियो। कांग्रेस महासचिव केसी वेणुगोपाल अनुसार, पार्टीले मुख्य निर्वाचन आयुक्त विरुद्ध कार्यक्रम आयोजना गर्न चाहेको थियो, तर त्यसका लागि स्थान तय गर्न कठिनाइ भयो।
केसी वेणुगोपालले अशोका होटलमा कार्यक्रम आयोजनाको अनुमति प्राप्त भएपछि पुलिसको हस्तक्षेपका कारण होटल व्यवस्थापनले आफ्नो परिसरमा कार्यक्रम गर्न अस्वीकार गरेको बताए। त्यसपछि रामलीला मैदानमा कार्यक्रम आयोजना गर्ने योजना बनाइयो। कांग्रेस अनुसार, २५ अक्टोबरदेखि ३ नोभेम्बरसम्मका लागि मैदान बुक गर्न माग गरिए पनि ३० अक्टोबरमा कार्यक्रम आयोजना गर्न अनुमति प्राप्त भएन।
यद्यपि, दिल्ली पुलिसले मंगलवार १ नोभेम्बरममा रामलीला मैदानमा आयोजना हुने इन्डी गठबन्धनको र्यालीको अनुमति फिर्ता नलिएको स्पष्ट पारेको थियो। पुलिस अनुसार, कानून-व्यवस्था कायम राख्ने दृष्टिकोणबाट र्यालीका लागि अनापत्ति प्रमाणपत्र (एनओसी) जारी गरिएको छ। आधिकारिक जानकारी अनुसार, मैदानको स्वामित्व भएको निकायबाट पूर्व अनुमति लिने सर्तमा उक्त एनओसी जारी गरिएको थियो। अक्टोबर १७ को पत्र कांग्रेसले १ नोभेम्बरमा आयोजना हुने र्यालीका लागि अक्टोबर २५ देखि नोभेम्बर ३ सम्म रामलीला मैदान बुक गर्न गरेको अनुरोधसँग सम्बन्धित थियो।
उल्लेखनीय छ कि कांग्रेस र इन्डी गठबन्धनले १ नोभेम्बरमा दिल्लीको रामलीला मैदानमा ‘भोट बचाऊ–देश बचाऊ’ भन्ने नारा सहित विशाल र्याली आयोजना गर्न लागेका छन्। मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियामा कथित अनियमितता विरुद्ध यो विरोध प्रदर्शन गर्न लागिएको हो। यो अभियान अक्टोबर २६ देखि नोभेम्बर २६ सम्म विभिन्न चरणमा सञ्चालन हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी