चक्रवात 'अर्णव'- को प्रभावले कोलकाता एवं तटीय जिल्लाहरूमा वर्षा
अर्णब तूफान की समुद्र तट दीघा की एक छवि


कोलकाता, 28 अक्टोबर (हि.स.)। चक्रवात ‘अर्णव’ ओडिशा र आन्ध्र प्रदेशका तटीय क्षेत्रहरू तर्फ गइरहेको भए पनि पश्चिम बङ्गाललाई पनि यसले प्रभाव पार्ने अनुमान व्यक्त गरिएको छ। राज्यका तटीय जिल्लाहरूमा यल्लो अलर्ट जारी गरिएको छ। मछुवाराहरूलाई समुद्रमा जानदेखि निषेध गरिएको छ। कोलकाता सहित तटीय जिल्लाहरूमा प्रशासनलाई सतर्क रहन निर्देश दिइएको छ। कुनै ठूलो सङ्कट आइलाग्ने अपेक्षा नभए पनि नागरिक सुरक्षा बललाई तयार राखिएको छ। सावधानीको रूपमा दक्षिण-पूर्वी रेलवेले धेरै वटा रेलहरूलाई रद्द गरेको छ। गए मङ्गलवार साँझ ढलेपछि कोलकाता सहित तटीय जिल्लाहरूमा वर्षा शुरु भयो।

कोलकाता नगरनिगमले आगाममी 15 नोभेम्बरसम्म जल निकासी पम्पिङ्ग स्टेशनहरूका कर्मचारीहरूलाई 24 घण्टै निगरानी गर्ने निर्देश दिएको छ। शहरमा जलजमाउ हुने सम्भावना रहेका क्षेत्रहरूमा अतिरिक्त पम्पहरूको व्यवस्था गरिएको छ। हुगली नदीमा ज्वार आएको बेलामा सबै घाटहरूलाई कड़ा सतर्कता अप्नाउन भनिएको छ। जलजमाउको समस्या समाधान गर्न विभिन्न क्षेत्रमा विशेष श्रमिक दललाई तैनाथ गरिएको छ। नगरनिगमको मुख्यालयमा वर्षाको पानी निकाल्नको लागि विशेष मशिनहरूको व्यवस्था गरिएको छ।

विधाननगर नगरनिगमको जल निकासी विभागका अधिकारीहरूलाई साल्टलेकमा जल निकासी प्रणालीलाई सुचारू राख्न र जलजमालाई रोक्न आवश्यक कदम चाल्न निर्देश दिइएको छ। हवाई सेवामा सम्भावित अवरोधलाई ध्यानमा राख्दै यात्रुहरूलाई विमानस्थल तर्फ प्रस्थान गर्नअघि सम्बन्धित एयरलाइन्ससँग उड़ानको ताजा स्थितिको जाँच गर्न सल्लाह दिइएको छ।

कोलकाता पुलिसले गए मङ्गलवार साँझदेखि पार्क स्ट्रिट क्षेत्रमा माइकिङ्ग गरी जनतालाई सचेत गरायो। खुल्ला छत र बालकनीमा राखिएका गमलाहरू एवं डीटीएच एन्टेनाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न अपील गरिएको छ।

बन्दरगाह क्षेत्र तथा गङ्गाका घाटहरूमा नदी यातायात पुलिसले कड़ा निगरानी राखिरहेको छ। तीव्र हावा चल्दा साना डुङ्गा र लन्चहरूलाई नदीमा प्रवेश गर्नदेखि रोक्ने निर्देश दिइएको छ। नदी ट्राफिक पुलिसले पाँच वटा जेट स्कि, तीन वटा लन्च र दुई वटा स्पिड बोटलाई तयार राखेको छ। परिस्थितिलाई ध्यानमा राख्दै फेरी सेवाहरूलाई बन्द राख्न सक्छ। सो जानकारी लालबजारद्वारा दिइएको हो।

पूर्व मेदिनीपुर जिल्लाको दिघामा मङ्गलवार बिहानदेखि नै माइकिङ्ग गरेर पर्यटकहरूलाई सचेत गराइएको थियो। सम्भावित प्राकृतिक प्रकोपसँग जुझ्न सबै आवश्यक तयारी गरिएको जिल्ला प्रशासनले जनाएको छ। मङ्गलवार दिउँसोदेखिनै दिघामा बादलले आकाश ढाक्न थालेको थियो। पर्यटकहरूलाई समुद्रमा जानदेखि रोक्न निगरानी बढाइएको छ भने नुहाउने घाटहरूलाई घेराबन्दी गरिएको छ।

पश्चिम मेदिनीपुर जिल्लाको दाँतनमा मङ्गलवार दिउँसोदेखि वर्षा शुरु भएको छ। यस अवधि तीव्र हावा चल्यो। बेलदामा हावाहुन्डरीको कारणले रुखहरू ढलेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande