
काठमाडौँ, २८ अक्टोबर (हि.स.)। नेपाल-भारतबीच सीमा सुरक्षासम्बन्धी समन्वय बैठकमा सहभागी हुन भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघल काठमाडौँ आइपुगेका छन्। नेपाल सशस्त्र पुलिस बल (एपीएफ) र भारतको एसएसबीबीच सीमा सुरक्षा समन्वयसम्बन्धी बैठक बुधबारदेखि काठमाडौँमा शुरु हुँदैछ।
सीमा सुरक्षामा खटिएका दुवै देशका सुरक्षा निकायबीच यस्तो उच्चस्तरीय बैठक विगत एक दशकदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको छ। यसपटक दशौँ समन्वय बैठक हुन लागेको हो। बैठकमा गृह मन्त्रालय, सुरक्षा निकाय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्।
नेपाल र भारतबीचको खुला सीमाबाट दुवै देशले लाभ उठाउँदै आएका छन्। तर, खुल्ला सीमाको दुरुपयोग गरी विभिन्न आपराधिक गतिविधि हुने गरेका छन्। मानव बेचबिखन, लागुऔषध ओसारपसार, भन्सार छली, अवैध निर्यात–आयात तथा गैरकानुनी व्यापार दुवै देशका लागि चुनौती बनेका छन्।
नेपालले भारतबाट हुने लागुऔषध तस्करी नियन्त्रण गर्न प्रभावकारी सहयोग र सूचनाको आदान-प्रदानको विषय उठाउने तयारी गरेको छ। सीमापारबाट हुने लागुऔषध तस्करी रोक्न नेपालले भारतीय पक्षबाट थप सहयोगको अपेक्षा गरेको छ।
यसरी नै भारतले आतङ्कवाद, अवैध घुसपैठ, सीमावर्ती क्षेत्रमा अनधिकृत आवागमन तथा नेपालबाट हुने मदिराको अवैध कारोबारलाई प्रमुख कार्यसूचीमा समेट्ने तयारी गरेको छ। गम्भीर अपराधमा संलग्न व्यक्तिहरू दुवै देशमा प्रवेश गरी लुक्ने समस्याबारे पनि बैठकमा छलफल हुने सम्भावना छ।
बैठकमा तेस्रो मुलुकका नागरिकको सीमापार आवागमनको निगरानीसम्बन्धी विषयसमेत उठाइनेछ। अघिल्लो बैठकमा दुवै देशले सीमावर्ती क्षेत्रमा तेस्रो मुलुकका नागरिकको आवागमनमाथि निगरानी बढाउने सहमति गरेका थिए।
सीमावर्ती क्षेत्रमा बङ्गलादेशी र पाकिस्तानी नागरिकको आवागमनलाई भारतले विशेष चासोका साथ हेर्दै आएको छ। नेपालले भने म्यान्मार र बङ्गलादेशबाट आउने रोहिङ्ग्या समुदायका व्यक्तिलगायत अन्य नागरिकको आवागमन नियन्त्रण गर्नुपर्ने विषय उठाउँदै आएको छ।
संयुक्त गस्ती र सीमा व्यवस्थापनमा सहकार्य
यस बैठकमा सीमावर्ती क्षेत्रमा दुवै देशका सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने तयारी छ। संयुक्त सीमा गस्ती, सीमा स्तम्भको मर्मतसम्भार, सीमापार अपराध नियन्त्रण, सूचनाको प्रभावकारी आदानप्रदान तथा सुरक्षा निकायबीच आपसी समन्वय सुधार गर्ने विषयमा विचारविमर्श हुनेछ।
सशस्त्र पुलिस बलको हलचोकस्थित मुख्यालयका अनुसार, बैठकमा सीमावर्ती क्षेत्रमा विपद्पूर्व तयारी तथा विपद् व्यवस्थापन, सुरक्षाकर्मीको क्षमता अभिवृद्धि, तालिममा सहकार्य र अवैध वस्तुको तस्करी नियन्त्रणका उपायबारे पनि छलफल हुनेछ।
अघिल्ला सहमतिको कार्यान्वयनबारे समीक्षा
नेपाल र भारतबीच २०१२ देखि वार्षिक समन्वय बैठक आयोजना हुँदै आएको छ। कोभिड-१९ महामारीलगायत केही कारणले प्रभावित अवधिबाहेक यो बैठक नियमित रूपमा हुँदै आएको छ। गत वर्ष नवौँ समन्वय बैठक भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको थियो।
उक्त बैठकमा सीमापार अपराध नियन्त्रण, लागुऔषध तस्करी रोकथाम, अवैध निर्यात-आयात नियन्त्रण, अनधिकृत आवागमन नियन्त्रण, सूचनाको आदानप्रदान, संयुक्त सीमा गस्ती तथा सुरक्षा तालिममा सहकार्यलगायत विषयमा छलफल भएको थियो।
अघिल्ला बैठकमा भएका सहमति कार्यान्वयन नभएको विषय पनि यसपटकको कार्यसूचीमा समावेश गरिनेछ। दुवै देशका अधिकारीहरूले पुराना सहमतिको समीक्षा गर्दै तिनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उपाय खोज्नेछन्।
बुधबारदेखि काठमाडौँमा तीन दिनसम्म सञ्चालन हुने यस बैठकमा सीमा सुरक्षासम्बन्धी चुनौतीहरूको समीक्षा गर्नुका साथै आपसी सहयोग विस्तार, सूचनाको आदानप्रदानलाई प्रभावकारी बनाउने र विगतका सहमति कार्यान्वयन गर्न नयाँ रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल