संयुक्त राष्ट्रमा अमेरिकी दूत वाल्ट्ज र क्युबाका विदेशमन्त्रीबीच चर्काचर्की
संयुक्त राष्ट्र में अमेरिकी राजदूत माइक वाल्ट्ज । स्क्रीन ग्रैब - एनबीसी न्यूज


न्युयोर्क (अमेरिका), २८ अक्टोबर (हि.स.)। संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्ज र क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिलाबीच मङ्गलबार चर्काचर्की भएको छ। वाल्ट्जले सम्बोधन गरिरहेका बेला पारिला मञ्चनजिकै पुगेपछि दुवैबीच भनाभन भएको थियो। पारिला वाल्ट्जमाथि बेइमानी गरेको आरोप लगाए।

क्युबाविरुद्ध लगाइएका अमेरिकी प्रतिबन्धहरूको निन्दा गर्ने प्रस्तावमाथि छलफल हुनुअघि यो घटना भएको हो। ती प्रतिबन्धलाई आधुनिक युगको विश्वकै सबैभन्दा लामो आर्थिक तथा व्यापारिक प्रतिबन्धका रूपमा लिइन्छ।

एनबीसी न्युजको रिपोर्टअनुसार, पारिलाले अमेरिकाले अन्य देशहरूलाई यी प्रतिबन्धहरूको निन्दा गर्ने प्रस्तावको विपक्षमा मतदान गर्न दबाउ दिइरहेको आरोप लगाएका छन्। उनका अनुसार, हालै इन्धन आपूर्तिमा लगाइएको रोकका कारण क्युबाको स्वास्थ्य सेवा प्रणाली गम्भीर सङ्कटमा परेको छ। यसबाट शिशु मृत्युदर दोब्बर भएको र लाखौँ क्युबाली नागरिकको जीवन जोखिममा परेको उनको दाबी छ।

यसको विपरीत, वाल्ट्जले आफ्नो सम्बोधनका क्रममा क्युबाली सरकारलाई भ्रष्ट भन्दै आलोचना गरे। उनले क्युबाका नेताहरू निजी टापुमा बस्ने र महँगा रोलेक्स घडी लगाउने गरेको आरोप लगाउँदै देशको समस्याका लागि अरूलाई दोष दिने गरेको बताए।

वाल्ट्जले क्युबाका दिवङ्गत नेता फिडेल कास्त्रोको एउटा तस्बिर देखाए, जसमा उनले दुईवटा रोलेक्स घडी लगाएका थिए। प्रत्येक घडीको मूल्य करिब ४० हजार अमेरिकी डलर रहेको वाल्ट्जले बताए। उनले भने, 'क्युबा सरकारकै तथ्याङ्कअनुसार, यी घडीहरूको मूल्य एक साधारण क्युबाली नागरिकले ५५ वर्षसम्म कमाउने रकमबराबर छ।'

त्यसपछि वाल्ट्जले क्युबाका वर्तमान राष्ट्रपति मिगेल डियाज क्यानेलको तस्बिर देखाउँदै भने, “यो कास्त्रोको समयदेखि मात्रै शुरु भएको होइन। यी क्युबाका वर्तमान राष्ट्रपति हुन् र उनले पनि रोलेक्स घडी लगाएका छन्।”

वाल्ट्जको भनाइप्रति आपत्ति जनाउँदै क्युबाका विदेशमन्त्री पारिला मञ्चनजिकै पुगे र अमेरिकी राजदूतमाथि झुट बोलेको आरोप लगाए। त्यसपछि वाल्ट्जले कडा स्वरमा उनलाई पछाडि हट्न लगाए। उनले भने, “उनीहरूलाई तीतो सत्य मन पर्दैन। तपाईं जति चाहे त्यति डर देखाउन आउन सक्नुहुन्छ। तर यो मञ्चबाट पछाडि हट्नुहोस्।”

त्यसपछि वाल्ट्जले संयुक्त राष्ट्रसङ्घको महासभाका अध्यक्ष खलिलुर रहमानतर्फ फर्केर पारिलालाई मञ्चबाट पछाडि हटाउन आग्रह गरे।

उनले भने, “अध्यक्ष महोदय, यी व्यक्तिले यो मञ्चबाट पछाडि हट्नुपर्छ। उनले राजनीतिक बन्दीहरूलाई डराउन खोजेजस्तै मलाई संयुक्त राज्य अमेरिकामा डराउन सक्दैनन्। म संयुक्त राज्य अमेरिकाको प्रतिनिधि हुँ। पछाडि हट्नुहोस्।”

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande