‘अपरेशन सिन्दूर’ले भारतको आतंकवाद विरुद्धको लड़ाईलाई थप मजबुत बनायो : राजनाथ सिंह
आसियान रक्षा मंत्रियों की बैठक को संबोधित करते राजनाथ सिंह


- भारत आफ्ना साझेदारहरूसँग सुरक्षित, स्थिर र शान्तिपूर्ण हिन्द-प्रशान्त क्षेत्र निर्माण गर्न प्रतिबद्ध

नयाँ दिल्ली, २९ अक्टोबर (हि.स.)। फिलिपिन्सको सेबुमा आयोजित १३औँ आसियान रक्षा मन्त्रीहरूको बैठक-प्लस (एडीएमएम-प्लस) मा रक्षामन्त्री राजनाथ सिंहले आतंकवाद विरुद्ध भारतको लड़ाई केवल सैद्धान्तिक ज्ञानमा आधारित नभई दशकौँको मैदानी अनुभव र सफल सैन्य अभियानबाट थप मजबुत बनेको बताएका छन्। ‘अपरेशन सिन्दूर’ ले आतंकवादी संरचनाहरू ध्वस्त पारेर आतंकवाद विरुद्ध भारतको दृढ़ सङ्कल्प विश्व सामू प्रस्तुत गरेको उनले बताए। भारत आफ्ना साझेदारहरूसँग यो अनुभव साझा गर्दै सुरक्षित, स्थिर र शान्तिपूर्ण हिन्द-प्रशान्त क्षेत्र निर्माण गर्न प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

भारतीय प्रतिनिधिमण्डलसँगै बैठकमा सहभागी राजनाथ सिंहले आसियान देशका रक्षामन्त्रीहरू समक्ष भारत र आसियानको युवा जनसङ्ख्या दुवै पक्षको सबैभन्दा ठूलो शक्ति रहेको बताए। यस सामर्थ्यलाई नयाँ दिशा दिन भारतले बलियो ‘डिफेन्स युथ ब्रिज’ स्थापना गर्ने प्रस्ताव राखेको उनले जानकारी दिए। यसले जनस्तरको सम्पर्क, डिजिटल नवाचार र क्षमता अभिवृद्धिलाई प्रोत्साहन गर्नेछ। युवाहरूलाई सशक्त बनाएर सुखद, स्थिर र समृद्ध हिन्द-प्रशान्त क्षेत्रको भविष्यलाई थप मजबुत बनाउन सकिने उनले बताए।

उनले ‘सर्वे भवन्तु सुखिनः’ को भावना भारतको रक्षा तथा विदेश नीतिको मूल आधार रहेको बताए। एडीएमएम-प्लसको ‘हाम्रो भविष्यलाई सँगै अगाड़ी बढ़ाउने’ भन्ने विषयवस्तुले साझा जिम्मेवारी, पारस्परिक विश्वास र सहयोगको महत्त्वलाई प्रतिबिम्बित गर्ने उनले उल्लेख गरे। भारत खुला, समावेशी र नियममा आधारित हिन्द-प्रशान्त क्षेत्र निर्माण गर्न प्रतिबद्ध रहेको बताउँदै उनले यसमा आसियानको केन्द्रीय भूमिका र भारतको दीर्घकालीन रणनीतिक साझेदारी महत्त्वपूर्ण रहेको बताए।

भारतले दशकौँदेखि भारतीय नौसेना मार्फत विश्वव्यापी समुद्री व्यापार र महत्त्वपूर्ण समुद्री सञ्चार मार्गहरूको सुरक्षा सुनिश्चित गर्दै आएको उनले बताए। एक विश्वसनीय सुरक्षा प्रदायकका रूपमा भारतले जलयात्राको स्वतन्त्रता र अन्तरराष्ट्रिय समुद्री कानूनको सम्मान गर्दै सुरक्षित तथा स्थिर हिन्द-प्रशान्त क्षेत्र निर्माण गर्न प्रतिबद्धता व्यक्त गरेको उनले बताए।

राजनाथ सिंहले आतंकवादका सबै स्वरूपको उन्मूलन तथा सामूहिक क्षेत्रीय सुरक्षाप्रति भारतको प्रतिबद्धता दोहोर्याए। उनले आतंकवादविरोधी अभियानमा भारतको व्यापक अनुभव कक्षाकोठामा सीमित सैद्धान्तिक ज्ञान नभई सीमापारका जटिल सुरक्षा चुनौतीहरूको दशकौँसम्म प्रत्यक्ष सामना गरेर धरातलमा हासिल गरिएको अनुभव भएको बताए।

भारतका प्रत्येक रणनीतिलाई वास्तविक परिस्थितिमा सञ्चालन गरिएका अभियानका क्रममा परीक्षण गरिएको, थप प्रभावकारी बनाइएको र तिनको उपयोगिता प्रमाणित भएको उनले उल्लेख गरे। भारतको सक्रिय र धरातलमा परीक्षण गरिएको यस सिद्धान्तको निर्णायक प्रदर्शन ‘अपरेशन सिन्दूर’ का क्रममा भएको उनले बताए। उक्त अभियानमा भारतले आतंकवादी संरचनाहरू ध्वस्त पार्नुका साथै राज्यद्वारा प्रायोजित आतंकवाद विरुद्ध कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट सीमा निर्धारण गरेको उनले बताए।

राजनाथ सिंहले आसियानको केन्द्रिय भूमिका तथा सुरक्षित, स्वतन्त्र, समावेशी, सुदृढ र नियममा आधारित हिन्द-प्रशान्त क्षेत्रलाई भारतले विशेष महत्त्व दिने कुरा दोहोर्याए। यस्तो क्षेत्रमा शान्ति र स्थिरता केवल आकाङ्क्षा नभई सामूहिक प्रतिबद्धताको परिणाम हुने उनले बताए।

उनले आसियानसँग भारतको रणनीतिक सम्बन्ध दीर्घकालीन रहेको र साझा हित, पारस्परिक सम्मान तथा व्यावहारिक सहयोगमा आधारित रहेको बताए। गत वर्ष अक्टोबरमा क्वालालम्पुरमा आयोजित दोस्रो आसियान-भारत रक्षा मन्त्रीहरूको अनौपचारिक बैठकको उल्लेख गर्दै उनले उक्त बैठकमा आसियान-भारत व्यापक रणनीतिक साझेदारीका रक्षा तथा सुरक्षा पक्षहरूलाई अगाड़ी बढ़ाउने र साल २०२६ देखि २०३० सम्मका लागि आसियान-भारत कार्ययोजनालाई कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याइएको बताए।

रक्षामन्त्रीले भारत-आसियान रक्षा सहयोगलाई मजबुत बनाउन युवाहरूको सहभागिताको महत्त्वमाथि पनि जोड दिए। दुवै पक्षको युवा जनसङ्ख्यामा रहेका समान जनसाङ्ख्यिक विशेषता र आकाङ्क्षाहरूले अझ् गहिरो क्षेत्रीय साझेदारीका लागि बलियो आधार प्रदान गर्ने उनले बताए।

संस्थागत स्तरमा जनस्तरको सम्पर्क विस्तार गर्न, डिजिटल नवाचारलाई प्रोत्साहन दिन तथा एडीएमएम-प्लसका पहल अनुरूप क्षमता अभिवृद्धिलाई सहज बनाउन रक्षा क्षेत्रमा समर्पित ‘युथ ब्रिज’ स्थापना गर्ने प्रस्ताव उनले राखे।

युवाहरूलाई सशक्त बनाउनु र क्षेत्रीय शान्ति तथा सुरक्षामा योगदान पुर्याउन उनीहरूलाई थप अवसर उपलब्ध गराउनु ‘युवा, शान्ति र सुरक्षा’ विषयवस्तु अनुरूप रहेको उनले बताए। शान्तिपूर्ण, सुदृढ़ र समृद्ध हिन्द-प्रशान्त क्षेत्र निर्माणका लागि पनि यो आवश्यक रहेको उनले उल्लेख गरे।

/ बिशाल


 rajesh pande