अदन विमानस्थलमा हुतीका आक्रमणपछि सुरक्षाप्रति चिन्ता बढ्यो
f4aa53c38f8def8f73fb148007cb8881_1086710564.jpg


अदन (यमन), २९ अक्टोबर (हि.स.)। मध्यपूर्वी देश यमनको प्रमुख बन्दरगाह शहर अदनस्थित अन्तरराष्ट्रिय विमानस्थलमा इरान समर्थित हुती समूहले दुईवटा मिसाइल आक्रमण गरेपछि उड्डयन सुरक्षाप्रति चिन्ता बढेको छ। आक्रमणका कारण हवाई यातायात प्रभावित भएको छ। मानवीय सहायता भित्र्याउने महत्त्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको यस विमानस्थलमा भएको आक्रमणमा सर्वसाधारण घाइते भएका छन् भने भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ।

गल्फ न्युज, अरब न्युज र अल जजिराका समाचारअनुसार, यमनका सैन्य प्रवक्ता तथा यातायात मन्त्रालयले बुधबार अदन अन्तरराष्ट्रिय विमानस्थललाई लक्षित गरी दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको बताएका छन्। आक्रमणमा सर्वसाधारण घाइते हुनुका साथै भौतिक सम्पत्तिमा क्षति पुगेको र केही समयका लागि हवाई यातायात अवरुद्ध भएको थियो। यसअघि ७ अक्टोबरमा पनि ब्यालिस्टिक मिसाइल तथा मानवरहित विमानमार्फत आक्रमण गरिएको थियो।

हुती समूहले यमनको अन्तरराष्ट्रिय मान्यता प्राप्त सरकारको मुख्य आधार क्षेत्रमा रहेको यस विमानस्थल खाली गर्न माग गरेको बताइएको छ। यमनको यातायात मन्त्रालयले आक्रमणको निन्दा गर्दै यसले सर्वसाधारणको जीवन र हवाई आवागमन सुरक्षामा खतरा उत्पन्न गरेको चेताउनी दिएको छ।

यसैबीच, अक्टोबर महिनामा नागरिक विमानस्थलहरूमा भएका आक्रमणपछि साउदी अरबको नेतृत्वमा रहेको सेनाले हुती समूहका ८२ वटा शिविरहरू नष्ट गरेको समाचारमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande