देशका धेरै राज्यमा वर्षाको सम्भावना
देशका धेरै राज्यमा वर्षाको सम्भावना


नयाँ दिल्ली, २९ अक्टोबर (हि.स.)। चक्रवाती तूफान अर्नबको प्रभाव, नयाँ पश्चिमी विक्षोभ तथा दक्षिण अण्डमान सागरनजिक बनेको न्यून चापीय क्षेत्रका कारण देशका विभिन्न भागमा आगामी दुईदेखि तीन दिनसम्म भारी वर्षा, तीव्र हावा र असिनापानी हुने अनुमान गरिएको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) अनुसार, शुक्रवार आकाशमा सामान्यतया हल्का बादल लाग्ने सम्भावना छ। बिहानदेखि दिउँसोसम्म धेरै स्थानमा हल्का वर्षा हुनसक्छ भने प्रतिघण्टा ३० देखि ४० किलोमिटरको गतिमा तीव्र हावा चल्न सक्छ। अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहने अनुमान छ।

शनिवार पनि आकाशमा हल्का बादल लाग्नेछ। यस दिन अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस र न्यूनतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहन सक्ने अनुमान गरिएको छ।

आईएमडी अनुसार, दक्षिण छत्तीसगढ़ र वरपरका दक्षिण ओडिशामाथि बनेको दबाब कमजोर हुँदै उत्तरी छत्तीसगढ़ र उत्तर-पश्चिमी ओडिशामाथि सामान्य न्यून चापीय क्षेत्रमा परिणत हुने सम्भावना छ। यसको प्रभावले ३० अक्टोबरमा उत्तरी बिहारका केही स्थानमा भारी वर्षा हुनसक्छ।

दक्षिण अण्डमान सागर नजिक बनेको न्यून चापीय क्षेत्र पश्चिम-उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै ३१ अक्टोबरसम्म दक्षिण-पूर्वी बङ्गालको खाड़ी र अण्डमान सागर नजिक दबाबको क्षेत्रमा परिणत हुनसक्ने सम्भावना छ।त्यसपछि यो आन्ध्र प्रदेशको तटतर्फ अघि बढ्ने आशङ्का गरिएको छ।

उत्तर-पश्चिम भारतमा ३० अक्टोबर र १ नोभेम्बरमा जम्मू-कश्मीर तथा लद्दाखमा वर्षा हुने सम्भावना छ। हिमाचल प्रदेशमा ३० अक्टोबरदेखि २ नोभेम्बरसम्म तथा उत्तराखण्डमा पनि ३० अक्टोबरदेखि २ नोभेम्बरसम्म वर्षा हुनसक्छ। ३० अक्टोबरमा उत्तराखण्ड, पश्चिमी उत्तर प्रदेश, पूर्वी राजस्थान र हरियाणाका केही स्थानमा असिना पर्न सक्ने सम्भावना छ।

मध्य प्रदेश, विदर्भ र छत्तीसगढ़का धेरै भागमा ३० अक्टोबरदेखि ४ नोभेम्बरसम्म वर्षाको क्रम जारी रहन सक्छ। दक्षिणी प्रायद्वीपीय भारतमा ३० अक्टोबरदेखि ४ नोभेम्बरसम्म रायलसीमा, तमिलनाडु, केरल, कर्नाटक, तटीय आन्ध्र प्रदेश र तेलङ्गानाका धेरै भागमा वर्षा हुने सम्भावना छ। पूर्वी तथा पूर्वोत्तर भारतका अरुणाचल प्रदेश, असम, मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुरामा छिटपुटदेखि हल्कासम्म वर्षा हुनसक्छ।

त्यसैगरी, पश्चिमी भारतका कोंकण, गोवा, मराठवाड़ा, मध्य महाराष्ट्र र गुजरातका केही स्थानमा ३० र ३१ अक्टोबरका दिन हल्का वर्षा तथा मेघगर्जन सहित पानी पर्ने सम्भावना रहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande