
कोलकाता, ३० अक्टोबर (हि.स.)। विधानसभा चुनाउका क्रममा भारतीय जनता पार्टी (भाजपा) ले उत्तर बङ्गालमा अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) स्थापना गर्ने गरेको वाचा छिट्टै वास्तविकतामा परिणत हुने भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले बिहिवार उत्तर दिनाजपुर जिल्लाको रायगञ्जमा प्रशासनिक बैठकपछि यसको आधिकारिक घोषणा गरेका छन्। उनले पश्चिम बङ्गाल सरकारले रायगञ्जको दिकनगरमा राज्यको दोस्रो एम्स स्थापना गर्न केन्द्र सरकार समक्ष प्रस्ताव पठाउने निर्णय गरेको बताए। यसका साथै उनले उत्तर बङ्गालका जनतालाई राम्रो स्वास्थ्य सेवा उपलब्ध गराउन जलपाईगुडी र सिलिगुडीमा पूर्ण सुविधासम्पन्न क्यान्सर अस्पताल निर्माण गर्ने घोषणा पनि गरे।
मुख्यमन्त्रीले बिहिवार रायगञ्जमा प्रशासनिक बैठक गरेपछि कर्णजोरा क्षेत्रको तीस्ता मैदानमा आयोजित जनपरिसेवा (लोकसेवा) वितरण कार्यक्रममा सहभागिता जनाए। सोही मञ्चबाट उनले उत्तर बङ्गालको समग्र विकासको रूपरेखा प्रस्तुत गर्दै यस क्षेत्रका लागि ३० वटा नयाँ विकास परियोजनाबारे जानकारी दिए।
एम्स निर्माणमा जोड दिँदै मुख्यमन्त्रीले राज्य सरकारले दिकनगरमा यस प्रतिष्ठित स्वास्थ्य संस्थानको निर्माणका लागि प्रस्ताव पठाउने खाका तयार गरिसकेको बताए। जनतालाई आश्वस्त पार्दै उनले भने, “केन्द्र सरकारलाई यो प्रस्ताव पठाइनेछ। सबै आवश्यक कागजी प्रक्रिया पूरा भएपछि म स्वयं केन्द्रिय स्वास्थ्य मन्त्रीसँग दिकनगरमा एम्सको भूमिपूजन समारोहमा सहभागी हुन आउनेछु।”
स्वास्थ्य पूर्वाधारलाई मजबुत बनाउने दिशामा मुख्यमन्त्रीले सिलिगुडी र जलपाईगुडीका लागि पनि महत्त्वपूर्ण घोषणा गरे। उनले सिलिगुडीलाई कुनै पनि हालतमा निराश नबनाइने बताउँदै त्यहाँ र जलपाईगुडीमा अत्याधुनिक सुविधासहितका पूर्ण सुविधासम्पन्न क्यान्सर अस्पताल निर्माण गरिने जानकारी दिए। यसबाट उत्तर बङ्गालका बिरामीहरू उपचारका लागि टाढ़ा जानुपर्ने बाध्यता हट्ने उनले बताए। राज्यका प्रशासनिक प्रमुखले उत्तर बङ्गालको समग्र स्वास्थ्य संरचनालाई नयाँ ढङ्गले व्यवस्थित र सुदृढ़ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याए।
उल्लेखनीय छ, यसै वर्ष अप्रेलमा चुनावी प्रचारका क्रममा केन्द्रिय गृहमन्त्री अमित शाहले उत्तर बङ्गालको भ्रमण गर्दा यहाँ एम्स स्थापना गर्ने र स्वास्थ्य सेवामा व्यापक सुधार ल्याउने स्पष्ट वाचा गरेका थिए। चुनाउमा विजय हासिल गरेपछि धन्यवाद यात्राका क्रममा मुख्यमन्त्रीले साल २००९ देखि पहाड़ सहित सम्पूर्ण उत्तर बङ्गालले भाजपालाई भरपूर समर्थन गर्दै आएको र अब विकास कार्यमार्फत उक्त ‘ऋण’ चुकाउने समय आएको बताएका थिए।
रायगञ्जबाट एम्स निर्माण र क्यान्सर अस्पताल स्थापना सम्बन्धी गरिएको पछिल्लो घोषणालाई चुनावी वाचा पूरा गर्ने दिशामा चालिएको पहिलो ठूलो कदमका रूपमा हेरिएको छ।
/ बिशाल