
वासिङ्टन, ०३ अक्टोबर (हि.स.)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई अलास्कामा प्रस्तावित एलएनजी परियोजनामा लगानी गर्न दबाउ दिँदै सियोलले छिट्टै सम्झौतामा सहमति नजनाए अमेरिकाले उसबाट “धेरै पैसा असुल्ने” बताएका छन्। ट्रम्पले दक्षिण कोरियाले छिट्टै हस्ताक्षर नगरे रकम दोब्बर बनाउनेसमेत बताएका छन्। यद्यपि, अतिरिक्त रकम कुन रूपमा लिइनेछ भन्ने उनले स्पष्ट पारेका छैनन्।
दक्षिण कोरियाको सरकारी समाचार एजेन्सी योनहापका अनुसार, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानीका क्रममा यस्तो टिप्पणी गरेका हुन्। त्यसको दुई दिनअघि उनले दक्षिण कोरियाको अमेरिकी लगानी प्याकेजअन्तर्गत अलास्का एलएनजी परियोजना, टेक्सासमा ग्यासमा आधारित विद्युत् उत्पादन केन्द्र तथा आठवटा आणविक ऊर्जा केन्द्रसँग सम्बन्धित योजनाहरूको घोषणा गरेका थिए।
यद्यपि, दक्षिण कोरियाली सरकारले अलास्का एलएनजी परियोजनामा लगानीका विषयमा अहिलेसम्म अन्तिम निर्णय नभएको स्पष्ट पारेको छ। सियोलका अनुसार, परियोजनाको व्यावसायिक सम्भाव्यता तथा अन्य सर्तहरूको समीक्षा गरेपछि मात्र यसबारे अगाडि बढ्ने निर्णय गरिनेछ।
अमेरिकी वाणिज्यमन्त्री हावर्ड लटनिकले यसअघि दक्षिण कोरियाले अलास्का एलएनजी परियोजनामा ५० अरब डलरभन्दा बढी लगानी गर्ने बताएका थिए। यता, अमेरिका र दक्षिण कोरियाबीच जारी दस्तावेजमा परियोजनालाई व्यावसायिक सर्त तथा कानुनी आवश्यकताहरू पूरा गर्नेसँग जोडेर हेरिएको छ।
अलास्का एलएनजी परियोजनाअन्तर्गत राज्यको नर्थ स्लोपदेखि दक्षिणी अलास्कासम्म करिब १,२९८ किलोमिटर लामो पाइपलाइन निर्माण गरी प्राकृतिक ग्यासलाई तरलीकृत गरेर एसियाली बजारमा पठाउने योजना छ। परियोजनाको अनुमानित लागत करिब ४४.५ देखि ५४.५ अरब डलर रहेको बताइएको छ।
यस घटनाक्रमसँगै अमेरिका र दक्षिण कोरियाबीचको लगानी सम्झौताका सर्तबारे दुवै पक्षका भनाइमा अन्तरसमेत देखिएको छ। अमेरिकी प्रशासनले परियोजनामा दक्षिण कोरियाली लगानी घोषणा गरिसकेको भए पनि सियोलले भने यसलाई अहिलेसम्म अन्तिम लगानी प्रतिबद्धता मानेको छैन।
हिन्दुस्थान समाचार / बिशाल