तिब्बतमा एक घण्टाभित्र ३.६ र ३.१ तीव्रताका दुई भूकम्प
सांकेतिक


नयाँ दिल्ली, ०३ अक्टोबर (हि.स.)। नेपालको नजिकै रहेको तिब्बतमा शनिबार बिहान करिब एक घण्टाको अवधिमा दुईवटा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार, दुवै भूकम्पको तीव्रता क्रमशः ३.६ र ३.१ रहेको थियो। हिमालयको संवेदनशील क्षेत्रमा भूकम्पीय गतिविधि रेकर्ड गरिएको हो।

सञ्चारमाध्यमका रिपोर्टमा एनसीएसलाई उद्धृत गर्दै जनाइएअनुसार, पहिलो भूकम्प बिहान ६ः०० बजी भारतीय समयअनुसार गएको थियो। यसको तीव्रता ३.६ रहेको थियो र केन्द्र जमिनबाट करिब १५ किलोमिटर तल रहेको थियो। भूकम्पको स्थान २९.६२३ डिग्री उत्तरी अक्षांश र ९२.५०३ डिग्री पूर्वी देशान्तरमा रेकर्ड गरिएको थियो। त्यसको करिब ५५ मिनेटपछि बिहान ६ः५५ बजी भारतीय समयअनुसार ३.१ तीव्रताको दोस्रो भूकम्प गएको थियो। यसको केन्द्र करिब १४ किलोमिटरको गहिराइमा रहेको थियो भने यसको निर्देशांक २८.४५९ डिग्री उत्तरी अक्षांश र ९२.१९६ डिग्री पूर्वी देशान्तर रहेको थियो।

दुवै भूकम्प तिब्बत क्षेत्रमा गएको हो, जुन हिमालयको भूकम्पीय क्षेत्रको हिस्सा हो। हालसम्म यी धक्काका कारण ठूलो क्षति वा मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन।

नेपाल पछिल्ला दिनमा बाढी तथा पैह्रोलगायत विभिन्न प्राकृतिक विपत्तिबाट प्रभावित भइरहेका बेला यी दुवै भूकम्प आएका हुन्। अगस्टमा नेपाल र चीन सीमाक्षेत्रनजिक हिमपैह्रो तथा चट्टान खस्न थालेपछि आएको आकस्मिक बाढीका कारण भोटेकोशी नदीको जलस्तर बढेको थियो। यसबाट घर, सडक, पुल तथा जलविद्युत् परियोजनामा क्षति पुगेको थियो।

यता, नेपाल रेडक्रस सोसाइटीको १ अक्टोबरको स्थिति प्रतिवेदनअनुसार २४ देखि २७ सेप्टेम्बरसम्म लगातार परेको वर्षाका कारण विभिन्न प्रदेशमा बाढी, पैह्रो तथा जलमग्न हुने अवस्था सिर्जना भएको थियो। यी घटनामा ३० जनाको मृत्यु, १५ जना घाइते र तीन जना बेपत्ता भएको जानकारी दिइएको छ। करिब २ हजार परिवार प्रभावित भएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande