
काठमाडौँ, ३० अक्टोबर (हि.स.)। बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णब’ को प्रभावले बिहीबार रातिदेखि भइरहेको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकासहित नेपालका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। वर्षाका कारण सरकारी तथा निजी क्षेत्रका कर्मचारीसँगै दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरू पनि प्रभावित भएका छन्। विभिन्न कामका सिलसिलामा घरबाट बाहिर निस्किएका मानिसहरू छाता र वर्षादी ओढेर गन्तव्यतर्फ गएको देखिए।
मौसमविद्हरूले शुक्रबार दिनभर हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेका छन्। केही स्थानमा भने भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले चक्रवात ‘अर्णब’ कमजोर भइसके पनि यसको अवशिष्ट प्रभावका कारण नेपालमा वर्षा, हिमपात र तीव्र हावाहुरी चल्नसक्ने बताएकी छन्। उनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेकी छन्।
त्रिभुवन विश्वविद्यालयको केन्द्रिय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार, शुक्रबार दिउँसोदेखि रातिसम्म कोशी र बागमती प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने सम्भावना छ। चक्रवातको प्रभाव शनिबारदेखि क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल