खरसाङ रेलवे स्टेशनमा ‘स्टेशन महोत्सव’ आयोजना हुने
खरसाङ रेलवे स्टेशनमा ‘स्टेशन महोत्सव’ आयोजना हुने


खरसाङ, ३० अक्टोबर (हि.स.)। युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत दार्जिलिङ हिमालयन रेलवेद्वारा सामुदायिक कल्याण र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले खरसाङ रेलवे स्टेशनमा ‘स्टेशन महोत्सव’ आयोजना गरिने भएको छ।

दार्जिलिङ हिमालयन रेलवेले दिएको जानकारीअनुसार, बहुदिवसीय यस महोत्सवमा सामुदायिक कल्याण, राष्ट्रिय एकता र क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदालाई विशेष प्राथमिकता दिइनेछ। लौह पुरुष सरदार वल्लभभाई पटेलको १५०औँ जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय एकतासम्बन्धी कार्यक्रमका साथ महोत्सवको शुभारम्भ गरिनेछ।

महोत्सवअन्तर्गत भोलि खरसाङ रेलवे स्टेशन परिसरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वैच्छिक रक्तदान शिविर आयोजना गरिनेछ।

यसैगरी, आगामी ६ नोभेम्बरमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह आयोजना हुनेछ। कार्यक्रममा क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदा, लोककला तथा स्थानीय कलाकारहरूको प्रतिभा प्रस्तुत गरिनेछ।

साथै, उत्कृष्ट योगदान, सामुदायिक सेवा तथा रेलवे क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरिने आयोजक पक्षले जनाएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande