
गान्तोक, 30 अक्टोबर (हि.स.)। मुख्यमन्त्री पीएस गोलेले अरुणाचल प्रदेशको त्वाङमा आयोजित 14औँ अन्तरराष्ट्रिय पर्यटन मार्ट (आईटीएम) 2026 को उद्घाटन सत्रमा पूर्वोत्तर क्षेत्रमा रहेको पर्यटनको प्रचुर सम्भावनाबारे प्रकाश पार्दै दिगो पर्यटन, सुदृढ़ सम्पर्क सञ्जाल, सांस्कृतिक संरक्षण र समावेशी आर्थिक विकासमा जोड़ दिए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा निमन्त्रणा र न्यानो आतिथ्यका लागि प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावत, अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डु तथा भारत सरकार र अरुणाचल प्रदेश सरकारको पर्यटन मन्त्रालयप्रति आभार व्यक्त गरे।
सिक्किम र अरुणाचल प्रदेशको साझा हिमालयी सम्पदा, समृद्ध सांस्कृतिक परम्परा र प्राकृतिक सौन्दर्यलाई उजागर गर्दै उनले पूर्वोत्तरका आठवटै राज्यलाई यस क्षेत्रलाई एकताबद्ध र विश्वव्यापी रूपमा मान्यताप्राप्त पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सामूहिक रूपमा काम गर्न आह्वान गरे।
उनले सिक्किमका प्रमुख पर्यटकीय पहलहरूबारे पनि चर्चा गरे, जसमा ‘मेगा होमस्टे योजना’, कम चर्चामा रहेका गन्तव्यहरूको प्रवर्द्धन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्न पर्यटन पूर्वाधारको सुदृढ़ीकरण समावेश छन्। पर्यटन र आर्थिक वृद्धिको एक महत्त्वपूर्ण आधारका रूपमा सम्पर्क सञ्जालमा जोड़ दिँदै उनले राष्ट्रिय राजमार्ग 10’ लाई बाह्रै महिना सञ्चालनयोग्य राजमार्गका रूपमा विकास गर्नुपर्ने तत्कालको आवश्यकता औँल्याए।
सिक्किमको प्रतिनिधिमण्डलमा पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री छिरिङ टी भोटिया, अध्यक्ष सोनाम नोर्गे लाचुङ्पा, सचिव होण्डाला ग्याल्छेन, संयुक्त निर्देशक लामिन थिङ, उपनिर्देशक यामिनी प्रधान र पर्यटन तथा नागरिक उड्डयन विभागकी एचए छिरिङ ओङ्मु भोटियाले अंशग्रहण गरेका थिए।
यस कार्यक्रममा सिक्किमका पर्यटन सरोकारवालाहरू-जस्तै टास, एएएसटीएचए र समिट ग्रुप अफ् होटल्सका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो, जसले राज्यको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरूको सक्रिय संलग्नतालाई झल्काउँछ।
29 देखि 31 अक्टोबर, 2026 सम्म सञ्चालन हुने तीनदिने अन्तरराष्ट्रिय पर्यटन मार्ट भारत सरकारको पर्यटन मन्त्रालयको मार्गदर्शनमा आयोजना गरिएको हो भने यसको आतिथ्य (आयोजक राज्यका रूपमा) अरुणाचल प्रदेश सरकारले गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल