
गान्तोक, 30 अक्टोबर (हि.स.)। सिक्किमको सांगीतिक प्रतिभालाई अन्तरराष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्यका साथ लोकप्रिय गायन प्रतियोगिता ‘सिक्किम आइडल’ अब ‘सिक्किम आइडल इन्टरनेशनल’ का रूपमा अघि बढ्ने भएको छ। यस नयाँ पहलले विश्वभरका नवोदित गायकहरूका लागि सहभागिताको अवसर प्रदान गर्ने प्रचार-प्रसार तथा कार्यक्रम प्रभारी दिवस राईले प्रेस विज्ञप्तिमा बताएका छन्।
यसको तयारीस्वरूप मेनुका स्टेला राई, रेमन्ती राई र येश्री पाल्देन शेर्पासहितको तीन सदस्यीय टोली शुक्रबार देहरादुन, उत्तराखण्ड प्रस्थान गरेको छ। टोली शनिबार नयाँ दिल्ली हुँदै देहरादुन पुग्नेछ। त्यहाँ स्थानीय आयोजकहरूसँग भेटघाट, आगामी अडिसनको समन्वय तथा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम रहेको छ।
यस पहलको औपचारिक घोषणा, अन्तरराष्ट्रिय अवधारणाको परिचय तथा आगामी अडिसन र सहभागितासम्बन्धी जानकारी दिन शनिबारदेखि विभिन्न निर्धारित स्थानमा पत्रकार सम्मेलनहरूको शृङ्खला शुरु गरिनेछ।
मुख्यमन्त्री प्रेमसिंह तामाङको संरक्षण तथा सहयोगमा सिक्किम आइडलले नयाँ स्वरूप लिन लागेको हो। यस सिजनदेखि वरिष्ठ वर्गलाई अन्तरराष्ट्रिय मञ्चमा स्तरोन्नति गरिएको छ। यसअन्तर्गत विश्वभरका १४ वर्षभन्दा माथिका इच्छुक गायकहरूले सहभागिता जनाउन सक्नेछन्। तर, कनिष्ठ वर्ग भने सिक्किमका प्रतिभाशाली बाल गायकहरूका लागि मात्र सीमित रहनेछ।
मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको परिकल्पना तथा पहलमा शुरु भएको यस गायनमा आधारित कार्यक्रम हाम्रोवार्ता टेलिभिजनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। वर्षौंदेखि सिक्किम आइडलले नयाँ सांगीतिक प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा आफ्नो स्थान स्थापित गरेको कार्यक्रम प्रभारी राईले बताएका छन्।
उनले अझ भने, यस कार्यक्रमको सफलताको उदाहरणका रूपमा सिक्किम आइडलबाट अघि बढेकी जेट्सेन डोना लामाले ‘सा रे गा मा पा लिटल च्याम्प्स’ को उपाधि जितेर सिक्किमलाई राष्ट्रियस्तरमा चिनाउन सफल भएकी छन्। त्यसैगरी, दोस्रो सिजनका कनिष्ठ वर्गकी विजेता हिसे शेर्पा र वरिष्ठ वर्गकी विजेता ओजस्वी गुरुङले पनि आफ्नो सांगीतिक यात्रामा प्रगति गरिरहेका छन्।
युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कनिष्ठ वर्गका शीर्ष तीन विजेता तथा वरिष्ठ वर्गका विजेताले हाल गान्तोकस्थित डीपीएस र ग्रीनडेल विद्यालयमा शतप्रतिशत सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्। यसले कार्यक्रम प्रतिभा पहिचानमा मात्र सीमित नरही शिक्षा र उज्ज्वल भविष्यका अवसर सिर्जना गर्नसमेत प्रतिबद्ध रहेको देखाउँछ।
‘सिक्किम आइडल इन्टरनेशनल’ लाई भौगोलिक सीमाभन्दा माथि उठेर विश्वका विभिन्न भागका सांगीतिक प्रतिभालाई एउटै मञ्चमा ल्याउने अवधारणाका रूपमा अघि बढाइएको छ। यसले सिक्किमको समृद्ध सांगीतिक सम्पदा, सांस्कृतिक पहिचान र सिर्जनात्मक क्षमतालाई विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखेको बताइएको छ।यस पहलमार्फत सिक्किमलाई विश्वको सांस्कृतिक नक्सामा स्थापित गर्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा राज्यको प्राकृतिक सुन्दरता, आतिथ्य सत्कार र जीवन्त संस्कृतिको अनुभव लिन विश्व समुदायलाई आमन्त्रण गर्ने उद्देश्यसमेत राखिएको आयोजकले जनाएको छ।हाम्रोवार्ता टेलिभिजन तथा सिक्किम आइडलको सम्पूर्ण टोलीले राज्यवासी, सङ्गीतप्रेमी, शुभचिन्तक तथा विश्वभरका इच्छुक गायकहरूलाई यस पहलमा सहयोग र समर्थन जनाउन आग्रह गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल