
नाम्ची, 30 अक्टोबर (हि.स.)। राज्य वन विभागका मन्त्री पिञ्चो नामग्याल लेप्चाले आज याङगाङस्थित भालेढुङ्गा स्काइवाक परियोजनाको निर्माणाधीन कार्यको निरीक्षण गरे। भ्रमण अवधि उनले परियोजनाको प्रगति तथा कार्यान्वयनको अवस्थाबारे सम्बन्धित अधिकारीहरूबाट जानकारी लिए।
निरीक्षणको क्रममा उनले परियोजनालाई सुचारू रूपमा र समयमै सम्पन्न गर्न वन तथा वन्यजन्तु विभागबाट आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे। उनले भइरहेका प्रयासको प्रशंसा गर्नुका साथै पर्यटन पूर्वाधार सुदृढ़ गर्न, धेरै पर्यटकलाई आकर्षित गर्न तथा याङ्गाङ र वरिपरिका क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि जीविकोपार्जनका अवसर सिर्जना गर्न स्काइवाक परियोजनाको महत्त्वमाथि जोड़ दिए।
मन्त्रीले यस क्षेत्रमा महत्त्वपूर्ण विकास परियोजनाहरू ल्याउनुका साथै निरन्तर सहयोग पुर्याएकोमा मुख्यमन्त्री पीएस गोलेप्रति आभार व्यक्त गरे। उनले यस्ता पहलहरूले पर्यटन प्रवर्द्धन गर्न, स्थानीय आर्थिक अवसरहरू सिर्जना गर्न र समग्र क्षेत्रको विकासलाई गति दिन कसरी योगदान पुर्याउन सक्छन् भन्ने कुरा प्रकाश पारे।
भालेढुङ्गा स्काइवाक परियोजनालाई याङ्गाङ र यस वरिपरिको क्षेत्रका लागि एक प्रमुख पर्यटकीय आकर्षणका रूपमा परिकल्पना गरिएको छ। यसले पर्यटकहरूलाई आकर्षित गर्ने, स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा वरिपरिका समुदायहरूका लागि जीविकोपार्जनका नयाँ अवसरहरू सिर्जना गर्ने सम्भावना बोकेको छ।
यस निरीक्षण भ्रमणले विकास परियोजनाहरूको सुचारू कार्यान्वयन सुनिश्चित गर्न विभिन्न विभागबीच समन्वय र सहकार्यको महत्त्वलाई उजागर गरेको छ। वन तथा वन्यजन्तु विभागबाट प्राप्त सहयोगको प्रतिबद्धताले यस महत्त्वपूर्ण पर्यटकीय पहलको प्रगतिलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ।
यो भ्रमण पर्यटकीय पूर्वाधारलाई सुदृढ़ पार्न र याङ्गाङलाई सिक्किमको एक उदीयमान पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न चालिएको अर्को महत्त्वपूर्ण कदम रहेको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल