
कोलकाता, 31 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालको बाँकुड़ा जिल्लामा राज्य पुलिसको गुुप्तचर विभाग (डीआईबी) का एकजना इन्स्पेक्टरको मृत्यु भयो। मृतकको पहिचान जयन्त पाल (41) को रूपमा भएको छ। घटना गए शुक्रवार साँझ बाँकुड़ा शहरको केठारडाङ्गा रेलवे गेट नजिकै भएको हो। उनको शवलाई अरण्यक एक्सप्रेस रेलवेको फाटक नजिकै फेला परेको थियो। उक्त घटनालाई लिएर विभिन्न प्रश्न उठिरहेको छ। पुलिसले दुर्घटना, आत्महत्या लगायतका सबै सम्भावित कोणबाट अनुसन्धान गरिरहेको छ।
पुलिस सूत्र अनुसार जयन्त पाल बाँकुड़ा पुलिस लाइनमा जिल्ला गुप्तचर विभागका निरीक्षकको रूपमा कार्यरत थिए। उनलाई करिब एक महिनाअघि मात्र बाँकुड़ा जिल्लामा स्थानान्तरण गरिएको थियो। तर घटना हुँदा उनी छुट्टीमा थिए। उनले यसअघि हुगली जिल्लाको चण्डीतला र सिङ्गुर सहित धेरै वटा महत्त्वपूर्ण पुलिस स्टेशनको जिम्मेवारी सम्हालिसकेका थिए। उनको पैतृक घर आसनसोल उत्तर पुलिस थाना क्षेत्रमा अवस्थित छ ।
घटनाको जानकारी पाए लगत्तै पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि बाँकुड़ा सम्मिलानी मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। यस सम्बन्धमा अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरी जाँच शुरू गरिएको छ। पुलिसले उनका परिवारलाई घटनाको जानकारी दिएको छ। उनका सहकर्मीहरूलाई जाँच अधिकारीहरूले सोधपुछ गरिरहेका छन्। परिवारका सदस्यहरूको बयान पनि रेकर्ड गरिनेछ।
बाँकुड़ाका पुलिस अधीक्षक पीवीजी सतिशले बताए, जयन्त पाल एक महिनाअघि जिल्लामा आएका थिए भने हाल उनी छुट्टीमा थिए। हाल उनको व्यवहार वा परिस्थितिमा कुनै परिवर्तन आएको थियो कि थिएन, पुलिसले पत्तो लगाउने प्रयास गरिरहेको छ। तथापि उनको मृत्युको वास्तविक कारण अझै थाहा हुन सकेको छैन।
उल्लेखनीय छ, यसअघि हुगली जिल्लाको चण्डीतला थानामा कार्यरत हुँदा एक गोलीकाण्ड तथा व्यक्तिगत विवादको कारणले जयन्त पाललाई राज्य पुलिसले अस्थायी रूपमा निलम्बन गरेको थियो। हाल जीआरपी र स्थानीय पुलिसले घटनाको अनुसन्धान गरिरहेका छन्।
/ बिशाल